arrow

वर्तमान निर्वाचन प्रणालीले एकल बहुमत ल्याउन गाह्रो छ: सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
deubasss.jpg

मलेखु (धादिङ) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै पनि राजनीतिक दललाई एकल बहुमत ल्याउन कठिन हुने बताएका छन्। संविधानमा रहेको समावेशी र समानुपातिक प्रणालीकै कारण यो अवस्था आएको उनको भनाइ छ।

नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्वर्गीय भरतप्रसाद उप्रेतीको १३औँ दिनको पुण्यतिथिमा धुनिबेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले बहुमत ल्याउनका लागि पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न जरुरी रहेको धारणा राखे। उनले भने, "अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ। संविधानमा सबै जातिहरूको प्रतिनिधित्व भएको छ। कुनै एक पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ। बहुमत ल्याउने वातावरण बनाउनका निम्ति पार्टी एकता जरुरी छ। एकताको सुरुवात धादिङबाटै गर्नुहोस्।"

कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको 'रोग'को अन्त्य गर्न जरुरी रहेको बताए। उनले स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर बन्ने विचार व्यक्त गरे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशाङ्क कोइराला लगायतका केन्द्रीय नेताहरू र धादिङ जिल्ला सभापति तथा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमला लगायतका नेताहरूले स्वर्गीय उप्रेतीका विगतका सङ्घर्ष सम्झँदै प्रशंसा गरेका थिए।

विसं १९८५ मा धादिङको नौबिसेमा जन्मनुभएका कांग्रेस नेता उप्रेतीको ९७ वर्षको उमेरमा २०८२ असार २८ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ