यात्रुको चाप बढी भएको र कच्ची सडकका कारण जीप अनियन्त्रित भई दुर्घटना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
691
Shares
बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार, मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेका छन्।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप क्युडी गाउँबाट वडा कार्यालयतर्फ आउँदै गर्दा टुनीगडामा दुर्घटनामा परेको हो।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार, यात्रुको चाप बढी भएको र कच्ची सडकका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्छ।
घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थलमा पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।