मधेशमा खानेपानी अभाव हुँदा पनि सरकार गैरजिम्मेवार बनेको सांसद कंशाकारको आरोप
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
1.7k
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेशमा खानेपानीको चरम अभाव हुँदा पनि सरकार गैरजिम्मेवार बनेको आरोप लगाएकी छन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले बारा, पर्सा र महोत्तरीमा पानीको हाहाकार भए पनि मन्त्रीहरू भने विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाइन्।
सांसद कंशाकारले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको सङ्गठित मानव तस्करी विरुद्ध आफ्नो पार्टीले ४८ दिनदेखि आवाज उठाइरहेको भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको बताइन्। उनले भिजिट भिसाको दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि संसदीय छानबिन विशेष समिति वा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग पनि गरेकी छन्।
उनले भनिन्, “मधेशमा पिउने पानीका लागि मानिसहरू घर छोड्न बाध्य छन्। तर मन्त्रीहरू विदेश भ्रमणमै मस्त छन्। बारा, पर्सा, महोत्तरी पुग्नुपर्ने जरुरी सरकारलाई छैन। संसदमा हामी ४८ दिनदेखि उभिएका छौँ। भिजिट भिसाको नाममा हुने सङ्गठित तस्करीबारे सरकारलाई खबरदारी गरिरहेका छौँ। तस्करको सेटिङ नभत्किएको आजकै राष्ट्रिय दैनिकहरूमा छापिएको छ। भ्रष्ट र तस्करहरू सरकारसँग डराएका छैनन्।”
सांसद कंशाकारले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो आन्दोलन जारी रहने बताइन्।