जगदुल्लाको अनियमितताबारे छानबिन गर्न समितिको निर्देशन, माओवादी सांसदको ‘नोट अफ डिसेन्ट’
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
1.7k
Shares
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर आयोजनामा भएको भनिएको अनियमितताबारे प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा छलफलपछि सभापति ऋषिकेश पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
छलफलको क्रममा यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको जानकारी आएपछि समितिले त्यसमा थप बहस गर्नुको सट्टा छानबिन गर्न निर्देशन दिने निर्णय गरेको हो। सभापति पोखरेलले भने, “उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन भएको अवस्थामा हामीले यसबारे छलफल अघि बढाउनुपर्ने देखिएन। हामीले निकाल्ने निष्कर्षले कुनै परिणाम दिने देखिएन। प्रचलित कानून विपरीत नहुने गरी सम्बन्धित निकायलाई जवाफदेही हुनेगरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गर्दछौँ।”
समितिको यो निर्णयप्रति माओवादी सांसद अमनलाल मोदीले भने ‘नोट अफ डिसेन्ट’ जनाएका छन्। उनले अनियमितताबारे गम्भीर रूपमा छानबिन हुनुपर्नेमा जोड दिँदै भने, “यस्ता अनियमितताका विषयमा यति हल्का निर्णय गरिन्छ भने मेरो सहमती छैन। नोट अफ डिसेन्ट।”
सांसद मोदीले आफ्नो असहमति व्यक्त गरिरहँदा सभापति पोखरेलले अदालतमा विचाराधीन विषयमा समितिले संयम अपनाउनुपर्ने अवस्था आएको स्पष्ट पारेका थिए।