arrow

अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष नै बीपीप्रतिको उच्च सम्मान: गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
gagan-thap-s.jpg

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अँध्यारोबाट उज्यालोको बाटोमा निरन्तर संघर्ष गर्नु नै बीपी कोइरालाप्रतिको उच्च सम्मान भएको बताएका छन्। नेपाली कांग्रेस भरतपुर महानगरपालिका–११ ले आयोजना गरेको वडा कार्यालय एवं बीपी स्मृति भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले बीपीले अँध्यारोबाट उज्यालोको खोजीमा संघर्ष गरेकाले अहिले पनि कांग्रेसलाई यस्तै संघर्षको आवश्यकता रहेको बताए।

महामन्त्री थापाले बीपीले आफ्नो मात्रै नसोचेर जनताका लागि संघर्ष गरेको भन्दै त्यसैगरी हिँड्नुपर्नेमा जोड दिए। बीपीले उठाएको कष्ट कुनै एक युगका लागि नभई अहिले पनि उठाउन आवश्यक रहेको उनको भनाइ थियो।

"कांग्रेसीको मनभित्र भएको भय बीपीको सोचअनुसार हामी हिँड्न सकेनौँ भनेर हो। यो पूरा गर्ने जिम्मेवारी तपाईँ हामीकै हो," थापाले भने। अहिले भएको परिवर्तन बीपीको विचारअनुसार नभएको भन्ने हुटहुटी कांग्रेसमा रहेको भन्दै यसलाई जगाइराख्न सक्नु नै बीपीको सच्चा अनुयायी भएको उनले बताए।

थापाले कांग्रेस आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताउँदै राजतन्त्रदेखि गणतन्त्र र लोकतन्त्रसम्म बीपीको विचारअनुसार कांग्रेसले आफ्नो जिम्मेवारी निभाएको स्पष्ट पारे। जिम्मेवारीका हिसाबले कांग्रेस सही ठाउँमा रहेको बताउँदै उनले बीपीको विचारसहित गरिएका कामहरूको प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रको एकता अहिलेको आवश्यकता रहेको बताए। कांग्रेस एक हुँदा विपक्षी कमजोर बन्ने भन्दै उनले देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको आभास तल्लो तहमा पुग्न आवश्यक रहेको बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू उमा रेग्मी, मधु आचार्य, टेकप्रसाद गुरुङ, अञ्जनी श्रेष्ठले पनि कांग्रेस बीपीको विचारअनुसार हिँड्न युवाहरू अघि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, तरुण दलका केन्द्रीय सदस्य निर्मल पौडेल, नेपाली कांग्रेस चितवनका प्रवक्ता ज्ञानेन्द्र कार्कीलगायतले बीपीको योगदानबारे चर्चा गरेका थिए।

२०७७ सालमा निर्माण सुरु गरिएको बीपी स्मृति भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको हो। स्व. मैयादेवी श्रेष्ठले प्रदान गरेको १५ कट्ठा जग्गामा ६६ लाख ३५ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ