गत आर्थिक वर्षमा ११ प्रतिशत भन्दा बढी महिला वैदेशिक रोजगारीमा: अवैधानिक बाटोबाट जाँदा समस्या बढ्दै
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
1.7k
Shares
काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आर्थिक वर्ष २०८०/८१ मा ११ प्रतिशतभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएको जानकारी दिएका छन्। मंगलबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यो तथ्यांक प्रस्तुत गरेका हुन्।
महानिर्देशक भट्टराईले महिलाहरूको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रूपमा बढ्दै गएको बताए। उनका अनुसार, आर्थिक वर्ष ०७७/७८ मा ६.८७ प्रतिशत, ०७८/७९ मा ७.७९ प्रतिशत, ०७९/८० मा ९.३५ प्रतिशत र ०८०/८१ मा ११ प्रतिशतभन्दा बढी महिला वैदेशिक रोजगारीमा गएका छन्।
उनले भने, "आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको अवस्था पाउँछौँ। महिलाहरूको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको छ।"
भट्टराईले कतिपय मुलुकमा सुरक्षा चुनौतीका कारण महिलाहरूलाई श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि उनीहरू अवैधानिक बाटो हुँदै जाने गरेको बताए। विदेशमा श्रम स्वीकृति लिएरै काम गर्न जाने भएपनि महिला श्रमिक नपठाउने भनिएका देशहरूमा पनि महिला श्रमिकहरू पुगेको र विभिन्न समस्यामा परेको उनको भनाइ थियो।
"वैधानिक बाटोबाट नजाँदा विभिन्न समस्या आउनसक्छन्। सरकारले जुनसुकै कुनामा गएर अलपत्र परेको नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ," उनले थपे।
पछिल्लो समयमा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने भन्दा व्यक्तिगत रूपमा जानेको संख्या बढिरहेको पनि महानिर्देशक भट्टराईले जानकारी दिए। संस्थागत भन्दा व्यक्तिगत रूपमा जाने श्रमिकहरू बढी ठगिने गरेको उनले बताए।