‘कुलिङ पिरियड’ मा संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने कांग्रेस महामन्त्री शर्माको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
742
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको 'कुलिङ अफ पिरियड' सम्बन्धी संशोधन फिर्ता नलिए वर्तमान सत्ता गठबन्धनमा दरार आउन सक्ने चेतावनी दिएका छन्। मंगलवार ४३औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महामन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रुपमा छानबिन समिति बनेको स्मरण गराए। सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले 'दुर्घटना निम्त्याउने' उनको चेतावनी थियो।
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न आग्रह गरे। एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्लाबेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
महामन्त्री शर्माले भने, "राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्मानीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ। सँगै हामीले राज्यव्यवस्था समितिबाट सर्वसम्मत रुपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ। हामी सँगै बस्दैगर्दा सबै त्यो कुरामा सहमत पनि हुने, तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रस्ताव आइराखेर फेरि त्यसलाई दुर्घटनातर्फ लगियो भने स्वभाविक छ कि दुईवटा दलको हाम्रो जुन समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ।"
उनले परिस्थितिको अत्यन्तै प्रतिकूलता र जटिलताका बीचबाट गठबन्धनको सरकार बनेको भन्दै यो सरकारको सफलता फरक मतहरूको बीचको साझा मतबाट बन्ने बताए। एउटै दलभित्र पनि दुईवटा, तीनवटा दृष्टिकोणहरू हुने भएकाले स्वाभाविक रूपमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा पनि रहेको, सहकार्य पनि रहेको र फरक मत पनि रहेको उनले बताए। यसको बीचबाट साझा मतको खोजी गर्नु पनि आवश्यक रहेको उनको भनाइ थियो।
शर्माले थपे, "त्यसैले यो बेलामा सम्माननीय प्रधानमन्त्रीलाई यहाँबाट अपील गर्नुपर्यो। अहिले हामीबीच उत्पन्न हुँदै गरेको समस्या, दुईवटा कुराको सन्दर्भमा हामी फरक मतमा छौँ। यो दुईटै कुराको हल, हाम्रो आग्रहलाई केन्द्रमा राखेर प्रधानमन्त्रीज्यूले गम्भीरता राख्नुपर्छ।"
महामन्त्री शर्माले गठबन्धनमा उत्पन्न समस्याको हल खोज्ने जिम्मा प्रधानमन्त्री ओलीको रहेको पनि स्पष्ट पारे।