arrow

कराँते खेलाडी अकबरे खुर्सानी खेतीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
om-magar-myagdi.jpg

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि-७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानी खेती गरेका हुन् । 

“खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,” उनले भने “प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।”

समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालिदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उनले बताए । खुर्सानी खेतीका लागि उनले रु दुई लाख ५० हजार लगानी गरेका छन् । 

धवलागिरिमा यसअघि व्यावसायिक रूपमा अकबरे जातको खुर्सानीखेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो । बजारको सम्भावना भएकाले अकबरे खुर्सानीखेती गरेको किसान मगरले बताए । 

स्थानीय बजारमा प्रतिकिलो रु दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ । 

तीस वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेका छन् ।

मगर कराते खेलका खेलाडी हुन् । उनको बगैँचामा ७० किबीका बोट छन् । गत वर्ष तीन हजार किलोग्राम किबी बिक्री गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ