रसुवाको ल्हेन्दे खोला बाढीले २८ करोड बढीको बिमा दाबी, पूर्वाधारमा ठूलो क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ५ सोमबार
688
Shares
काठमाडौँ । रसुवाको ल्हेन्देखोलमा आएको बाढीका कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यसबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रकम २८ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको नेपाल बिमा प्राधिकरणले जनाएको छ। विभिन्न सात बिमा कम्पनीमा गरी कूल ६३ वटा बिमा दाबी परेका छन्।
ल्हेन्देखोलको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, सीमामा निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधनहरू बगाएको थियो। यसका साथै, रसुवागढी जलविद्युत् आयोजना लगायतका अन्य भौतिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ।
क्षतिग्रस्त सम्पत्तिको बिमा दाबीमध्ये शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ। यसैगरी, नेको इन्स्योरेन्समा ५ करोड २० लाख रुपैयाँ बराबरको तीन वटा र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेका छन्।
अन्य बिमा कम्पनीहरूमा परेका दाबीहरूमध्ये नेपाल इन्स्योरेन्स कम्पनीमा १ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआईसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा, युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा र सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ।
यस घटनाले मनसुनको समयमा भौतिक सम्पत्ति र पूर्वाधारको सुरक्षाका लागि बिमाको महत्त्वलाई पुनः उजागर गरेको छ।