काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा आणविक केन्द्रमा गरिएको अमेरिकी बमबारीले ती स्थानहरू ’पूर्णतया ध्वस्त’ भएको दाबी गरेका छन्। आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले "इरानका तीनवटै आणविक स्थलहरू पूर्णरूपमा ध्वस्त वा नष्ट गरिएको" दोहोऱ्याएका छन्।
उनले भने, "उनीहरूलाई सेवामा फर्काउन वर्षौं लाग्नेछ र यदि इरानले त्यसो गर्न चाहेको खण्डमा उनीहरूले तीन फरक फरक स्थानमा नयाँ तरिकाले सुरु गर्नु राम्रो हुनेछ।"
गत जुन २२ मा अमेरिकाले हवाई आक्रमण गरी इरानको विवादास्पद आणविक कार्यक्रमस्थलमाथि धावा बोलेको थियो। आक्रमणमा तेहरानको दक्षिणमा रहेको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्रका साथै इस्फाहान र नातान्जका आणविक स्थलमा व्यापक क्षति भएको थियो।
वासिङ्टनले यी बम विस्फोटलाई इरानी आणविक र सैन्य पूर्वाधारविरुद्ध इजरायलको अभियानका क्रममा भएका ’नकआउट’ प्रहारका रूपमा लिएको थियो, जसको उद्देश्य आणविक हतियार निर्माण गर्ने वर्षौँ लामो गोप्य प्रयासलाई रोक्नु थियो। इरानले भने आफ्नो असैनिक आणविक शक्ति कार्यक्रमलाई हतियार बनाउने प्रयास नगरेको दाबी गर्दै आएको छ।
ट्रम्पले पूर्ण सफलता हासिल गरेको दाबी गरे पनि धेरै अमेरिकी सञ्चार माध्यमहरूले चुहिएको गुप्तचर सूचनाको हवाला दिँदै आक्रमणबाट सबै इरानी आणविक र सैन्य पूर्वाधार नष्ट नभएको दाबी गरेका छन्।
एनबीसी न्यूजले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टमा सेनाको क्षतिको आँकलनलाई उद्धृत गर्दै तीनमध्ये एउटा स्थल मात्र ध्वस्त भएको उल्लेख गरिएको छ। एनबीसीका अनुसार अन्य दुई स्थल मर्मत योग्य मानिएका छन् र आगामी केही महिनाभित्र युरेनियम संवद्र्धनका गतिविधिहरू पुनः सुरु गर्न सक्षम हुनसक्ने छन्।
एनबीसीका अनुसार पेन्टागनले ट्रम्पले रोजेको एक रातको अपरेसन नभई केही हप्तासम्म चल्ने बमबारी अभियानमार्फत इरानको सुविधामा अझ बढी क्षति पुर्याउने विकल्प तयार पारेको थियो। एक वर्तमान र एक पूर्व अधिकारीलाई उद्धृत गर्दै गरिएको रिपोर्ट अनुसार राष्ट्रपति ट्रम्पले हताहत हुने र द्वन्द्वमा फस्ने डरका कारण थप व्यापक आक्रमण योजनालाई अस्वीकार गरेका थिए।