संसदीय विशेष समितिले निजामती विधेयक छानबिनमा विज्ञहरू गर्यो परिचालन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३ शनिबार
632
Shares
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको 'कुलिङ अफ पिरियड' मा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको छ।
सिंहदरबारमा शनिबार बसेको बैठकले संविधानविद् काशीराज दाहाललाई समितिको विज्ञका रूपमा संलग्न गराएर छानबिन प्रक्रिया सुरु गरेको छ। बैठकपछि समितिका संयोजक जीवन परियारले समिति गठन भएको १३ औं दिनमा यो १८ औं बैठक बसेको जानकारी दिए।
उनले विगतमा भएका कामहरूको समीक्षा गर्दै बाँकी अनुसन्धान कसरी अगाडि बढाउने भन्नेबारे बैठकमा छलफल भएको बताए। समितिको निर्णयअनुसार संविधानविद् दाहाललाई विज्ञको रूपमा आजको बैठकदेखि नै समितिमा राखिएको छ।
साथै, आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरी एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तालाई पनि निरन्तर बैठकमा रहने गरी छानबिनमा सहयोगका लागि बोलाइएको परियारले बताए।
"आज समितिको बैठक सुरु भएको १२ औं दिन हो। प्रतिनिधि सभाबाट समिति गठन भएको १३ औं दिन हो। १८ औं बैठक सम्पन्न गरिसकेका छौँ," परियारले भने, "विगतमा कामहरू कसरी अघि बढाएका थियौँ, बाँकी कामहरू कसरी अघि बढाउने, छानबिनका क्रमहरू कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेका छौँ।"
उनले थपे, "हामीले विज्ञहरूको पनि निर्णय लिनेगरी काम अघि बढाएका छौँ। जसमा समितिले निर्णय गरेअनुसार संविधानविद् काशीराज दाहाललाई विज्ञको रूपमा आजदेखि समितिमै बस्नेगरी तयारी गरेका छौँ। महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता आउनुभएको छ भने एक जना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानबिनमा सहयोग पुर्याउन आग्रह गरेका थियौँ। सोही बमोजिम उहाँहरू आजको बैठकमा सहभागी हुनुहुन्छ। छलफल जारी छ, सोधपुछ भइरहेको छ। धेरै कामहरू सम्पन्न गरिसकेको अवस्था छ।"
संयोजक परियारले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरू सम्पन्न भइसकेको अवस्था रहेको बताए। समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ।