arrow

किसानलाई ३८ लाख रुपैयाँ अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३ शनिबार
fish-farmiing.jpg

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/८२ मा पशुपन्छी र माछापालक कृषकलाई रु ३८ लाख अनुदान वितरण गरेको छ । 

त्रिचालीस वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत रु ३८ लाख ७० हजार ७५ अनुदान पाएका हुन् । 

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए । 

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन सङ्कलन, स्थलगत मूल्याङ्कन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनले बताए । 

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई रु चार लाख २२ हजार ७९०, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसीपालक किसानलाई दूध उत्पादनमा आधारित रु नौ लाख ९९ हजार ९८० वितरण गरिएको छ । 

छ वटा फर्मलाई कृषि ब्याजमा रु ९९ हजार ९६०, कृतिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फर्म तथा किसानलाई रु दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा-३ को बेलढुङ्गा र मङ्गला-३ को नमूना कृषक समूहले रु एक लाख ५० हजार अनुदान पाएका छन् । 

तीन÷तीन वटा फर्र्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि रु ८५ हजार २१५ र रु एक लाख ५८ हजार १३० तथा अन्नपूर्ण गाउँपालिका-५ को चौरी स्रोत संरक्षण तथा प्रवर्द्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि रु तीन लाख ८४ हजार उपलब्ध गराइएको केन्द्रले जनाएको छ । 

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभास रेग्मीले जानकारी दिए । दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएका उनले बताए । 

दश हजार १०८ गाई/गोरु, १६ हजार २८६ भैँसी/रागो र २८७ बङ्गुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ ।

पाँच हजार ३३७ पशुलाई लम्पी स्किन र तीन हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पिपिआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ