arrow

राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो, ९० प्रतिशत काम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
rahuganga-hydra.jpg

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ। म्याग्दीको बहुप्रतीक्षित यो आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँगको सम्झौताको म्याद सन् २०२५ नोभेम्बर २७ सम्म थपिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए।

जयप्रकाश एसोसियट्सले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ मा रु ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो। यसअघि सन् २०२२ फेब्रुअरीमा दुईपटक म्याद थपिएकोमा गत जुन २७ मा त्यो सकिएको थियो। हालसम्म आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको छ।

केसीले ठेकेदारले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरे पनि परामर्शदाता ‘वाकफोस’ को सिफारिसअनुसार चार महिनामात्र म्याद थपिएको बताए। ठेकेदारले कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, बर्खायाममा बुग्लको पहिरो र सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा लगाएको रोकलाई निर्माण ढिलाइको कारण देखाएको छ।

सन् २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले पनि विद्युत्गृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन। भेलसँगको ठेक्काको म्याद आगामी डिसेम्बर ३१ सम्म छ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजु विष्टले सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदारलाई तालमेल मिलाएर काम गराउन समन्वय, सहजीकरण र ताकेता गरिरहेको बताए। कार्ययोजनाअनुसार ठेकेदारले काम गरेमा आगामी डिसेम्बरमा राहुघाट निर्माण सम्पन्न हुने विश्वास उनले व्यक्त गरे। यसअघि गत असार १५ गते सम्पन्न कार्ययोजना ठेकेदारहरूको ढिलासुस्तीका कारण असफल भएको विष्टले स्वीकार गरे।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र तिल्केनीचौरमा विद्युत्गृह निर्माणको काम ९० प्रतिशत सकिएको छ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा यो आयोजना सञ्चालन गरिएको हो। यसले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो। राहुघाटबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गत २२० केभीको दाना–कुश्मा प्रसारण लाइनमा जोडिनेछ, जसका लागि चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ