रक्षामन्त्री राईको एक वर्ष: विकास निर्माणमा सेनाको प्रगति, ७७ जिल्लामा सडक सञ्जाल विस्तारको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३२ बुधबार
610
Shares
काठमाडौँ। रक्षामन्त्री मानवीर राईले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गरेका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले २०८१ असार ३१ गते वर्तमान सरकारको रक्षामन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको प्रगति विवरण प्रस्तुत गरे।
प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री राईले नेपाली सेनामार्फत भइरहेका विकास निर्माणका आयोजनाहरूमा उल्लेख्य प्रगति भएको दाबी गरे। उनले मुलुकका ७७ वटै जिल्ला सदरमुकाममा सडक यातायातले छोएको बताए। मन्त्रालयले विपद्जन्य घटनाहरूको राहत र उद्धार कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ। छिमेकी मुलुकहरूमा शान्ति स्थापना गर्ने सवालमा नेपाली सेना सबैभन्दा ठूलो शक्ति बन्न पुगेको दाबी पनि उनले गरे।
रक्षा मन्त्रालयका सह–सचिव मनोजकुमार आचार्यले आर्थिक वर्ष २०८१/८२ मा संशोधित विनियोजन १५ अर्ब ३० करोड रुपैयाँ रहेकोमा हालसम्म १३ अर्ब ४६ करोड रुपैयाँ खर्च भइसकेको जानकारी दिए। उनका अनुसार मन्त्रालयमार्फत भइरहेका आयोजनाहरूको कुल लागत २ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ। मन्त्रालयअन्तर्गतका विकासे आयोजनाहरूको असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत र वित्तीय प्रगति ४२.७४ प्रतिशत रहेको पनि आचार्यले उल्लेख गरे।
आचार्यका अनुसार, मन्त्रालयअन्तर्गत सातवटा सुरुङमार्ग निर्माण भइरहेका छन्, जसमध्ये मकवानपुरमा पर्ने एउटा सुरुङमा ’ब्रेकथ्रू’ भइसकेको छ भने बाँकी सुरुङहरू निर्माणको क्रममै छन्। निर्माणाधीन ८९ वटा पुलहरूमध्ये ५० वटा पुलका लागि खरिद सम्झौता भइसकेको र हालसम्म पाँचवटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
"आयोजनाको कुल लागत २ सय ११ अर्ब रुपैयाँ, २०८२ असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत, वित्तीय प्रगति, ४२.७४ प्रतिशत रहेको छ। यो मोबिलाइजेशनसहित हो," आचार्यले भने, "आर्थिक वर्ष २०८१/८२ का लागि संशोधित विनियोजित बजेट १५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। आर्थिक वर्षको हालसम्मको खर्च रकम १३ अर्ब ४६ करोड रहेको छ। आयोजना निर्माणअन्तर्गत जम्मा सातवटा सुरुङहरूमध्ये मकवानपुरको सुरुङमा ब्रेकथ्रू भएको छ। अन्य सुरुङहरू निर्माणाधीन चरणमा रहेका छन्। आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेका जम्मा ८९ वटा पुलहरूमध्ये ५० वटा पुलहरूको निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकोमा हालसम्म पाँचवटा पुलहरूको निर्माण कार्य सम्पन्न भएको स्थिति छ।"
मन्त्री राईले विकास निर्माणसँगै सुरक्षा निकायहरूलाई सेवा सुविधा थप्ने कुरामा पनि मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए।