प्रचण्डको सरकारबाट बाहिरिनुको पीडा अझै हटेको छैन : एमाले
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
640
Shares
काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को सरकारबाट बाहिरिनुको पीडा अझै हटेको टिप्पणी गरेका छन्। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले अध्यक्ष दाहालले संसदको रोस्ट्रमबाट पीडाबोध गरेर गएको टिप्पणी गरे।
बर्तौलाले अध्यक्ष दाहालको सम्बोधन ’असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित’ भएको दाबी गरे। उनले हरेक विषयमा त्यस्तै भएको र संसदबाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि दाहालले राखेको भन्दै यो ’बेठिक शैली’ भएको बताए।
हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारात्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा बर्तौलाले जोड दिए। उनले भने, "अहिले संविधान र व्यवस्थाविरुद्ध धमिलो पानीमा माछा पार्ने प्रवृत्तिहरू सलबलाइरहेका छन्। व्यवस्थाका विरुद्ध ढुंगा हान्ने प्रवृत्तिहरू क्रियाशील भइरहेका छन्। उहाँले सरकारले गरेका राम्रा पक्षहरूलाई पनि सँगसँगै जोडेर अझ गर्नुपर्ने कुरा के हुन् त भन्ने कुरा सुझाव पनि दिनुपऱ्यो नि।"
बर्तौलाले अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई ’बिचौलिया’ देखेको भन्दै आपत्ति जनाए।