arrow

कञ्चनपुरमा बढ्दो सडक दुर्घटना: एक सातामै तीनको मृत्यु, लापरबाही र फितलो कानुन मुख्य कारण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
Accident-sign.jpg

कञ्चनपुर। कञ्चनपुरमा सडक दुर्घटनाले भयावह रूप लिँदै गएको छ। पछिल्लो एक सातामै सवारी दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन्। शुक्रबार साँझ बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्यु भयो। त्यसको केही दिनअघि सोही स्थानमा सवारीको ठक्करबाट भीमदत्त नगरपालिका–१५ का दीपेन्द्र चन्दको र शुक्लाफाँटा नगरपालिका–१ मा बसको ठक्करबाट द्रोपती भट्टको मृत्यु भएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कञ्चनपुरको तथ्याङ्कअनुसार सडक दुर्घटनाको अवस्था निकै चिन्ताजनक छ। गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको हालसम्म (असार ३० सम्म) ४ सय ४३ वटा सवारी दुर्घटना भएका छन्, जसमध्ये ३७ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ५६ सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएका थिए। सोही अवधिमा ६ वटा चौपायाकोसमेत मृत्यु भएको तथ्याङ्क छ। आर्थिक वर्ष २०७९/८० मा ६३ सवारी दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए भने ५९ जना घाइते भए। आर्थिक वर्ष २०७८/७९ मा ९३ सडक दुर्घटना हुँदा ३५ जनाको मृत्यु र ६३ जना घाइते भएका थिए।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार, कञ्चनपुरमा सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल रहेका छन्। पछिल्लो तीन वर्षमा ५ सय १४ मोटरसाइकल दुर्घटनामा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार, सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको छ। उनले साघुँरा सडकमा सवारीसाधनको अत्यधिक चाप रहेको र त्यसमाथि चालकले नियम नमान्दा दुर्घटना बढेको बताए। दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको उनले जानकारी दिए। "अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डेमो देखाउने गरेका छौँ," उनले भने, "विभिन्न समयमा चालकहरूसँग पनि सचेतना कार्यक्रम गर्दै आएका छौँ।"

तर, स्थानीय विष्णु जोशीले सवारी दुर्घटनामा राज्य र नागरिक दुवै उत्तिकै दोषी रहेको औँल्याए। उनले चालक स्वयं सचेत भए दुर्घटना न्यूनीकरण हुने भए पनि चालकले थाहा पाएर पनि ट्राफिक नियम नमान्ने र नियमन गर्ने निकाय मौन रहेको गुनासो पोखे। अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको उनको भनाइ छ।

अर्का स्थानीय सरस्वती भट्टले चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको बताए। "सवारी दुर्घटना हुँदा जसले गल्ती गरेको हो उसलाई कारबाही हुनुको साटो जहिले पनि ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्ने होला," उनले भने, "फितलो कानुनका कारण पनि चालक र पैदलयात्रु दुवैले लापरबाही गरेको हुन्छ।" सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि चालकले लापरबाही गर्ने गरेको उनको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ