भानुभक्तकाे जन्मस्थलको विकास तीनै तहका सरकारको समन्वयमा : मुख्यमन्त्री पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
661
Shares
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनै तहका सरकारको समन्वयमा राष्ट्रिय विभूती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास भइरहेको बताएका छन् ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिद्वारा भानु-४ चुँदी रम्घाबेसीमा आयोजित २१२औँ जन्मजयन्ती कार्यक्रममा उनले यहाँको दीर्घकालीन बनाउने विकासका लागि गुरुयोजनासहित काम भइरहेको बताएका हुन् ।
मुख्यमन्त्रीले आदिकवि जन्मस्थल शिखर कटेरीसम्म पुग्ने सडक असहज भएकाले त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “राष्ट्रपतिको गृह जिल्लासमेत भएकाले उहाँको सल्लाहअनुसार सङ्घ सरकारबाट गुरुयोजनासहित कार्य भइरहेको छ, अब शिखर कटेरीसम्म पुग्ने सडक सहज बनाउनुपर्ने छ, यसमा प्रदेश सरकारले सहयोग गर्नेछ ।” एकै ठाउँमा बजेट विनियोजन गर्ने नभई समन्वय विकास भइरहेको उनको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आदिकवि भानुभक्तको क्षेत्रमा विकासका लागि सबै तहबाट सहयोग आवश्यक रहेको बताए ।
जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले स्थानीय सरकारको मातहतमा रहे पनि आचार्य जन्मस्थल विकास सबैको दायित्व भएको धारणा राखे ।
भानु नगरप्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्षमा भानु जन्मस्थल शिखर कटेरीमा कार्यक्रम गर्नेगरी प्राथमिकताका साथ काम भइरहेको बताए ।
व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले आचार्य जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन सप्तधाम निर्माणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले यो क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक स्थान भएकाले यहाँको विकासमा प्रदेश तथा केन्द्र सरकारले जोड दिनुपर्ने बताए ।
‘भानु जन्मस्थल जाऊँः भानुलाई चिनाऔँ’ भन्ने नाराका साथ भानु जन्मस्थल विकासका लागि विभिन्न काम भइरहेका छन् ।
प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि आचार्यको विशाल प्रतिमा, सप्तधाम निर्माण, जग्गा अधिग्रहण, साहित्यिक उद्यान, पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट विनियोजित बजेटका साथै अन्य दातृ निकाय तथा सहयोगीसँगको समन्वयमा काम भइरहेको छ ।
चुँदी रम्घालाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्यसहित साहित्यिक उद्यान निर्माणका लागि प्रयास भइरहेको छ ।
उद्यानमा आचार्यको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्यग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको जनाइएको छ ।