भोटेकोशी बाढी: ११ शव फेला, १७ अझै बेपत्ता, करोडौंको भौतिक क्षति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
552
Shares
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा असार २४ गते आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये आइतबारसम्म ११ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यो जानकारी दिएका हुन्।
भट्टका अनुसार, फेला परेका ११ शवमध्ये केही मानव अङ्ग मात्र पनि छन्। यस घटनामा अझै १७ जना बेपत्ता रहेको र एक जना घाइते भएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धार कार्यका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थलगत रूपमा ७ सय ४९ जना र हवाई माध्यमबाट २ सय जनाको उद्धार गरिएको भट्टले बताए।
बाढीले ठूलो मात्रामा भौतिक क्षति पुर्याएको छ। भट्टका अनुसार, बाढीले २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, र ६ वटा सिंगो सवारीसाधन बगाएको छ। यसैगरी, २ वटा पुल पूर्ण रूपमा क्षति भएका छन् भने एउटामा आंशिक क्षति पुगेको छ।
स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोमिटर सडक धेरै ठाउँमा क्षतिग्रस्त भएको र ठाउँठाउँमा गरी १ हजार २ सय मिटर सडक पूर्ण रूपमा बगेको पनि जानकारी दिइएको छ। तीन वटा हाइड्रोपावरमध्ये रसुवागढी ११० मेगावाटको आयोजनामा सबैभन्दा बढी क्षति भएको र अन्यमा पनि क्षति पुगेको उल्लेख छ।
बाढीले पुलहरू बगाएसँगै रसुवा–चीनको सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द भएको प्राधिकरणले जनाएको छ, जसले गर्दा व्यापारिक गतिविधिमा समेत असर परेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बाढी हिमताल फुटेर आएको हुन सक्ने नजिक अध्ययन पुगेको बताएका छन्।