क्यान्सर उपचारमा क्रान्ति: अब नेपालमै क्यान्सरको सटिक ’टाइप’ पहिचान
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
659
Shares
नारायणगढ (चितवन)।चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउन अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ। स्वीस कम्पनी ‘रोश’ द्वारा निर्मित यो मेसिनको प्रयोगसँगै अब क्यान्सर परीक्षणका लागि बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
अस्पतालका प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेका अनुसार, यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण गर्न सहज भएको छ। "बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ। अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ," डा. पाण्डेले भनिन्। यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायतका समस्या थिए। अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिनेछ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ। "यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ," डा. पौडेलले भने। यो सेवा सुरु भएपछि अब नेपालमै ’टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ।
यो मेसिनले टिस्यु स्लाइडहरूमा आइएचसी परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ। क्यान्सरको केवल पुष्टि भएर मात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी (केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो) दिने भनेर निर्णय गर्न सकिन्छ। अस्पताल आफैँले यो मेसिन खरिद गरी सञ्चालनमा ल्याएको डा. पौडेलले जानकारी दिए।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले यो प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताए। "यस किसिमको प्रविधिको थालनीले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा सुदृढ बनाउनेछ," डा. नेपालले भने।
अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवालाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा. पौडेलले बताएका छन्।