arrow

कृषिलाई उठाऔँ –४ 

एक नेपालीको भागमा दुई रोपनी जमीन

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ असार २८ शनिबार
badri-ojha-82-3-28.jpg

रामेछाप सकेर मधेस झरेपछि कृषिको कुराको अर्कै पाटो सुरु भयो । कृषिमा सबै काम गर्न खोज्छन् । किसान पनि, पालिकाका नेता पनि । तर कसरी कताबाट सुरु गर्ने भन्नेबारे जानकारीको कमी छ ।

धेरैले सोधे, हाम्रोमा खास के गरे कृषि माथि उठ्ला ? त्यसपछि मेरो खोज सुरु भयो । अरु देशमा के गर्दा रहेछन् भन्नेबारे ।

विश्वका धेरै अन्न फलाउनेहरूसँग नेपालको तुलना गर्न मन लाग्यो । कृषि नीतिसँगै नेपालमा कृषि अनुदानको प्रभावकारिता अध्ययन पनि काम भएकाले विभिन्न थरिका मानिससँग छलफल गर्ने अवसर मिल्यो । किसान, किसानका नेता, कृषिका व्यापारी, कृिषका प्राविधिक कर्मचारी, नेता, विज्ञ, जानिफकार आदि आदि । 

यी विभिन्न किसिमका मानिसहरूसँग छलफल गरेपछि झन् उत्सुकता बढ्यो र सुरु गरियो तुलनात्मक अध्ययन ।

त्यसको प्रारम्भिक झलक हेरौं है त ।

नेपालको कूल क्षेत्रफल एक लाख ४७ हजार वर्ग किमीमध्ये २३ प्रतिशत अथवा ३१ लाख हेक्टर जमीनमा खेती गर्न सकिन्छ । यही अवस्था भारतमा फरक छ । त्यस मुलुकको ३३ लाख वर्गकिमी क्षेत्रफलमध्ये ५२ प्रतिशत अथवा १६ करोड हेक्टर जमीनमा खेती गर्न सकिन्छ । 

चीनको अवस्था अझ  फरक छ ।

त्यस मुलुकको कुल क्षेत्रफल ९६ लाख वर्गकिमी छ भने मात्र १२ प्रतिशत भूमि अथवा १२ करोड हेक्टरमा खेती हुन्छ । 

क्षेत्रफलका हिसाबले अमेरिका चीनभन्दा ठूलो छ । उसको क्षेत्रफल ९८ लाख वर्गकिमी छ तर निकै ठूलो भाग अथवा झण्डै चार लाख वर्ग किमी समुद्रले ढाकेकाले जमीनका हिसाबमा चीनभन्दा कम जमीन अमेरिकासँग छ । उसको पनि अधिकांश भूभागमा खेती हुँदैन। कूल क्षेत्रफलको १६ प्रतिशत अथवा करिव १६ करोड हेक्टरमा खेती हुन्छ ।

ब्राजिलको क्षेत्रफल ८५ लाख वर्गकिमी छ । उसको कूल क्षेत्रफलको ९.५ प्रतिशत अथवा ८० लाख हेक्टरमा मात्र खेती हुन्छ ।

खेतीमा अग्रणी अर्को मुलुक हो, फ्रान्स । यसको क्षेत्रफल साढे पाँच लाख वर्गकिमी छ । उसको जमीनको ३३ प्रतिशत अथवा करिव एक करोड ८५ लाख हेक्टरमा खेती हुन्छ ।

सानो राष्ट्र नेदरल्यान्ड्सको क्षेत्रफल मात्र ४१ हजार पाँच सय वर्गकिमी छ । उसको ४४ प्रतिशत अथवा झण्डै १८ लाख हेक्टरमा खेती हुन्छ । 

अब कुरा गरौं, अस्ट्रेलियाको । उसको क्षेत्रफल ७६ लाख ९० हजार वर्गकिमी छ । उसको कूल जमीनको मात्र ६ प्रतिशत अथवा चार करोड ७० लाख हेक्टर जमीनमा खेती हुन्छ । 

सामान्यतया एक वर्ग किलोमिटरमा सय हेक्टर जमीन समेटिन्छ । 

जमीनको स्वामित्वको सरदर अवस्था नेपाल र भारतमा उस्तै नै छ । नेपालमा एकजनाको भागमा ०.१ हेक्टर जमीन पर्छ भने भारतमा ०.१२ हेक्टर छ । खेतीका हिसाबले यो नगन्य जमीन हो । 

हाम्रो गाउँले भाषामा एक जना नेपालीको भागमा दुई रोपनी जमीन पर्छ भने एक भारतीयका नाममा दुई रोपनी चार आना पर्छ । यही क्रम अमेरिकामा ०.४८ हेक्टर, अस्ट्रेलियामा भने करिव १.९ हेक्टर प्रतिव्यक्ति खेतीयोग्य जमीन पर्दछ ।

अब उब्जनीको हिसाब गरौँ ।

नेपालको कृषि क्षेत्रको कूल गार्हस्थ उत्पादन ९.५ अर्ब डलर मानिन्छ । यसले कूल गार्हस्र्थ उत्पादनको २४ प्रतिशत हिस्सा ओगट्छ । यस मुलुकका ६२ प्रतिशत मानिस कृषिमा आवद्ध छन् । यस हिसाबले प्रतिव्यक्ति कृषि उत्पादन १२ सय डलर बराबरको हुन्छ ।

भारतमा कृषि क्षेत्रको गार्हस्थ उत्पादन ६ सय ५० अर्ब डलर छ । यसले कूल गार्हस्थ उत्पादनको १६ प्रतिशत हिस्सा ओगट्छ । प्रतिव्यक्ति कृषि उत्पादन दुई हजार डलर बराबर हुन्छ । 

नेपाल र भारतका उस्तै समस्या छन्, हातैले काम गर्नुपर्ने वाध्यता, यान्त्रिकरणको कमी र जमीन टुक्रिनु तर भारतले सिँचाइ र अनुदानमा अलि सुधार गरेकाले प्रतिव्यक्ति पाँच देखि आठ सय डलर बढी कमाइ गर्छ । 

चीनमा प्रतिव्यक्ति पाँच हजार डलरको उपज उत्पादन हुन्छ भने नेदरल्यान्ड्समा प्रतिव्यक्ति ८० हजार डलरको उत्पादन हुन्छ । 

चीनले प्रविधिमा विकास गरे पनि अझै हातले काम गर्ने अवस्थाबाट मुक्त भएको छैन । 

उता नेदरल्यान्ड्समा स्वचालित ग्रिन हाउसमा खेती गरिन्छ । सबै कुरा मेसिनले नै गर्छ । मान्छे त मेशिन चलाउने मात्र हो । 

अस्ट्रेलियामा एक व्यक्ति बराबर एक लाख डलरको कृषि उपज फल्छ । उसको पनि कृषि उच्च प्रविधिमा आधारित छ । उत्पादकत्व उति बढी नभए पनि उसको कमाइ राम्रो छ ।

सबैभन्दा बढी प्रतिव्यक्ति एक लाख २० हजार डलर बराबरको कृषि उपज अमेरिकामा फल्छ । उसको कृषि उच्च प्रविधि र निर्यातमा आधारित छ । 

उत्पादनका हिसाबले भने चीन भीमकाय छ । विश्वका अन्य पाँच ठूला उत्पादकको कमाइ एकै ठाउँमा राख्दा पनि उसकै भारी हुन्छ । 

उसले सन् २०२४ मा १६९० अर्ब डलर बराबरको कृषि उपज उत्पादन गरेको थियो । दोस्रोमा भारतले पाँच सय ५४ अर्ब, तेस्रोमा अमेरिकाले चार सय ६० अर्ब, चौथोमा ब्राजिलले दुई सय ८२ अर्ब डलर बराबरको कृषि उपज उत्पादन गरेका थिए । 

निर्यातका हिसाबमा भने चीन र भारत दुवै निकै पछाडि छन् । दुवैको जनसंख्या भारी छ । खाँदैमा धेरै सकिन्छ ।

निर्यातमा युरोप सबैभन्दा अगाडि छ । उनीहरू दुधजन्य उत्पादन, वाइन, गहुँ, बंगुरको मासु र जैतुनको तेल निर्यात गर्छन् । सन् २०२४ को तथ्यांक अनुसार युरोपेली संघले एकीकृत रुपमा आठ सय ३६ अर्ब डलर बराबरको कृषि उपज बेचेको थियो । 

दोस्रोमा अमेरिकाले एक सय ९८ अर्ब डलरको कृषि उपज विश्व बजारमा बेचेको थियो । उसका मुख्य निर्यातजन्य वस्तुमा मकै, भटमास, गहुँ, हाडेबदाम र गोरुको मासु पर्दछन् ।

तेस्रो कमाइ गर्ने मुलुक ब्राजिलले भटमास, गोरुको मासु, चिनी, कफी र कुखुराको मासुबाट एक सय ५७ अर्ब डलर कमाइ गरेको थियो । कफीका लागि ब्रजिल सबैभन्दा अगाडि छ । 

चौथोमा चीन थियो । उसले चिया, तरकारी, फलफूल र समूद्री खानेकुरा बेचेर ९५ अर्ब डलर कमाएको थियो । 

क्रमशः... (लेखक ओझा किसानहरूको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ