रासायनिक मलको अत्यधिक प्रयोगले खाद्य सुरक्षामा असर: मन्त्री अधिकारी
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
630
Shares
काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परिरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो चिन्ता व्यक्त गरेका हुन्।
मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक श्रोतहरूको ह्रास, र रासायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगले नेपाली कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर र दीर्घकालीन असर पारेको बताए। उनले हरित अर्थतन्त्रले यस्तो अवस्थामा दिगो बाटो देखाएको धारणा राखे।
"हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएको हुँदा हामीले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्यावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ," मन्त्री अधिकारीले भने। उनले कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जाको प्रयोग गर्ने र जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच हुनुपर्नेमा जोड दिए। युवा नेतृत्वसँग मिलेर साझेदारीमा अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।
मन्त्री अधिकारीले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्न आवश्यक रहेको बताए। "आजको हाम्रो पुँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्न सक्छौँ," उनले थपे।