arrow

हितेन्द्रले सार्वजनिक गरे सय दिने उपलब्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
hritendradevs.jpg

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो एक सय  दिने उपलब्धि सार्वजनिक गरेका छन्। यस अवसरमा उनले आफ्नो कार्यकालमा प्राधिकरणको यथार्थता बाहिर ल्याउन श्वेतपत्र जारी गरिएको जानकारी दिए। शाक्यका अनुसार, उक्त श्वेतपत्रले ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत र नवीनतम उपायबाट वित्तीय व्यवस्थापनलाई जोड दिएको छ, साथै मानव स्रोत व्यवस्थापनमा पनि ध्यान दिइएको छ।

सय दिने उपलब्धिका रूपमा शाक्यले वितरण तथा ग्राहक सेवातर्फ धेरै महसुल बुझाउने १० वटा उद्योगीहरूलाई सम्मान गरिएको र यसबाट विद्युत खपतमा वृद्धि आउने अपेक्षा राखिएको बताए। उनले डेडिकेटेड लाइनसम्बन्धी विवाद समाधानतर्फ उन्मुख रहेको, १०० दिनको अवधिमा चार्जिङ स्टेशनका पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको, र ९०० गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको जानकारी दिए। साथै, स्मार्ट मिटरको उपलब्धता बढाइएको, वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको र सबस्टेशनहरू तयार पारिएको पनि शाक्यले उल्लेख गरे।

शाक्यका अनुसार, चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण र यस अन्तर्गतका जलविद्युत आयोजनाहरूको २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ, जहाँ बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको छ।

त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्‍याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द भएका छन्। बाढीले प्रत्यक्ष असर पारेका आयोजनाहरूमा रसुवागढी, चिलिमे र माथिल्लो त्रिशूली ’थ्री ए’ रहेका छन्, जसकारण त्रिशूली कोरिडोरका मात्रै करिब ६–७ वटा प्लान्ट बन्द अवस्थामा पुगेका छन्। शाक्यका अनुसार, बाढीले माथिल्लो त्रिशूली ’थ्री ए’ को ड्याममा क्षति पुर्‍याएको छ भने दुई गेट बगाएको छ। यसबाहेक, ६० मेगावाटको माथिल्लो त्रिशूली ’थ्री ए’ जलविद्युत आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ।

यद्यपि, ठूलो क्षमताका आयोजनाहरू बन्द भए पनि शाक्यले देशभर विद्युतको माग व्यवस्थापनमा कुनै समस्या नभएको स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ