इरानका परराष्ट्रमन्त्रीद्वारा रूस र टर्किएका समकक्षीसँग भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
1.5k
Shares
काठमाडौँ । इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७औँ बहुपक्षीय सम्मेलनका अवसरमा रूस र टर्किएका परराष्ट्रमन्त्रीहरूसँग भेटवार्ता गरेका छन्। यस भेटवार्तामा क्षेत्रीय शान्ति र स्थिरताका विषयमा छलफल भएको छ।
रूसी मन्त्री सर्गेइ लाभरोभसँगको भेटमा अराघचीले इजरायल र अमेरिकाबाट इरानमाथि भएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले इरानको स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने दृढता पनि व्यक्त गरे।
रूसी मन्त्री लाभरोभले पनि ती आक्रमणहरू गलत भएको बताउँदै इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि भएको आक्रमणको विरोध गरे। उनले क्षेत्रीय शान्ति कायम राख्न सबैले संयमता अपनाउनुपर्नेमा जोड दिए।
टर्किएका परराष्ट्रमन्त्री हाकान फिदानसँग भएको छुट्टै भेटमा दुवै नेताले गाजामा भइरहेको मानवीय सङ्कटबारे गम्भीर चिन्ता व्यक्त गरे। इजरायलले गरिरहेको कारबाही तत्काल रोक्नुपर्नेमा उनीहरूले जोड दिए।
हालै इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेको थियो, जसमा कैयौँ मानिसको ज्यान गएको थियो। जवाफमा, इरानले पनि इजरायलमाथि आक्रमण गरेको थियो। त्यसपछि अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गर्यो र इरानले अमेरिकी हवाई बेसमा जवाफ दिएको थियो। बाह्र दिनसम्म चलेको यो तनावपछि अन्ततः दुवै पक्षबीच युद्धविरामको सहमति भएको छ।