arrow

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

सांसद अमरेशकुमारको सुझाव: आम्दानी नहुने क्षेत्रमा वैदेशिक ऋण लगानी नगरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
amreshs.jpg

काठमाडौँ प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा वैदेशिक ऋण लगानी गर्न नहुने बताएका छन्। आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

सांसद सिंहले जनसङ्ख्याका आधारमा भौतिक पूर्वाधारहरूको निर्माण गर्न जरुरी रहेको बताए। उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलहरू बने पनि प्रयोगमा आउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले भैरहवा र पोखराका विमानस्थल निर्माणमा धेरै अनियमितता भएको भन्दै त्यसको अनुसन्धानको माग गरे। साथै, भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगर्न आग्रह गरे।

"मधेस प्रदेशमा त्यत्रो जनसङ्ख्या छ तर त्यहाँ एयरपोर्ट छैन। भैरहवामा छ, एउटै प्रदेशमा दुई वटा बनेका छन् तर प्रयोग हुन सकेको छैन," सिंहले भने, "भैरहवा र पोखराको एयरपोर्टमा धेरै अनियमितता भएको छ। विमानस्थलहरूलाई अलिकति सही ढंगले सदुपयोग हुने बनाउनुपर्छ। विदेशीको ऋण लिन्छौँ भने त्यसबाट इन्कम हुनुपर्‍यो नि। ऋण भ्रष्टाचार गर्नका लागि मात्रै लिने परिपाटी छ, त्यसमा समितिमार्फत ध्यानाकर्षण गराउँछु। जहाँ धेरै जनता छन्, त्यही संरचनाहरू निर्माण गर्नुपर्छ। आम्दानी नहुने ठाउँमा लगानी नगरौँ।"

सांसद सिंहले नागरिक धेरै भएको ठाउँमा नै संरचनाहरू बढी बनाउँदा प्रयोग बढी हुने जिकिर गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ