काठमाडौँ। आज संघीय संसदका विभिन्न समितिका बैठकहरू बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैतर्फका महत्त्वपूर्ण समितिहरूमा विभिन्न विधेयक तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय भएको छ।
प्रतिनिधिसभातर्फ आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकहरू बस्दैछन्।
यीमध्ये, अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने सदस्यहरूसँग छलफल हुनेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने कार्यसूची छ।
उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ।
कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ।
पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल हुने कार्यसूची रहेको छ।
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ।
राष्ट्रियसभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ। यस समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ।
संयुक्त समितिको रूपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ। यस समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ।
प्रतिनिधिसभाको बैठक असार २३ गते सोमबार र राष्ट्रियसभाको बैठक असार २४ गतेका लागि निर्धारण भएकाले समितिमा महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउने गरी छलफलको कार्यसूची तय गरिएको हो।