नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्नुपर्नेमा पर्यटनमन्त्री पाण्डेको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
1.9k
Shares
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले हवाई टिकटको मूल्य घटाउन नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता बढाउन जरुरी रहेको बताए।
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता अत्यन्त न्यून भएका कारण हवाई टिकटको मूल्य नियन्त्रणमा समस्या आइरहेको जिकिर गरे। उनले नेपाल एयरलाइन्सले कुल विदेशी यात्रुको जम्मा १० प्रतिशत मात्रै बोक्ने गरेको र बाँकी ९० प्रतिशत विदेशी एयरलाइन्सले बोक्ने गरेको बताए। यो असन्तुलनले हवाई टिकटको मूल्यलाई सन्तुलनमा ल्याउन नसकिएको उनको भनाइ छ।
"हवाई टिकटको मूल्य घटाउन धेरै लाग्यौँ। सक्दै नसकेको कारण के हो भने हाम्रो नेपाल एयरलाइन्सको यात्रु बोक्ने क्षमता नै अत्यन्त न्यूनतम भयो," मन्त्री पाण्डेले भने, "यो कसरी बढाउन सकिएला भनेर लिजमा लिने कुरा पनि एउटा उपाय हो। लिजमा लिने गृहकार्य पनि भइरहेको छ।"
उनले नेपाल एयरलाइन्सको व्यवस्थापन सुधारमा पनि आफू लागेको बताए। ठूलो आकारका एयरलाइन्सहरूसँग सहकार्य गरेर काम गर्न सके र नेपाल एयरलाइन्सले सेवाको क्षमता विस्तार गरे मात्रै टिकटको मूल्य सन्तुलनमा आउने उनको भनाइ छ। मन्त्री पाण्डेले निगमलाई सशक्त बनाउन राम्रो ऐन र नियम बनाउन जरुरी रहेकोमा पनि जोड दिए।