arrow

कुलिङ पिरियड : एमाले सांसद गिरीद्वारा जिम्मेवार व्यक्तिहरूको राजीनामा माग

समितिमा सहमति भइसकेको ऐन जस्ताको त्यस्तै संसदमा पेश हुनुपर्नेमा ‘षड्यन्त्रपूर्वक सहमतिभन्दा बाहिर गएर शब्दमा चलखेल’ गरिएको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
padam-giris.jpg

काठमाडौँ। नेकपा एमालेका सांसद पदम गिरीले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा भएको शब्दको चलखेललाई गम्भीर भुल बताउँदै यसमा जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने माग गरेका छन्। मंगलबार सभामुख देवराज घिमिरेसगँको छलफलपछि उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

सांसद गिरीका अनुसार, समितिमा सहमति भइसकेको ऐन जस्ताको त्यस्तै संसदमा पेश हुनुपर्नेमा ‘षड्यन्त्रपूर्वक सहमतिभन्दा बाहिर गएर शब्दमा चलखेल’ गरिएको छ। यो अत्यन्तै गलत कार्य भएको भन्दै उनले यसको छानबिन हुनुपर्ने र टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न नसक्ने बताए।

गिरीले भने, “निष्कर्षमा पुगिसकेपछि जे सहमति भएको हो, जस्ताको त्यस्तै जानुपर्छ। संसदमा पेश भएर पास हुनुपर्दथ्यो। यहाँनेर षड्यन्त्र भयो, यो अत्यन्तै गलत काम भएको छ। भोलिका दिनमा छानबिनपछि टुंगो लाग्छ। यसको टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्दैन। यसमा जिम्मेवार जोजो हुनुहुन्छ, नैतिकताको आधारमा आफ्नो ठाउँ छोडिनुपर्छ। कारबाही भोग्नुपर्छ। यसमा जो जिम्मेवार छ, निकट भविष्यमा नै थाहा हुन्छ। जिम्मेवार व्यक्तिले राजीनामा दिनुपर्छ।”

सरकारले फागुन २०८० मा संसदमा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कुटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो। यस प्रावधानले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध नहुने र सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य थियो।

तर, समितिबाट पारित भएको विधेयकमा ‘संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक’ भन्ने शब्द राखिएको थिएन। प्रतिनिधि सभामा पुग्दा भने ‘बाहेक’ भन्ने शब्द राखिएको पाइएकाले प्रश्न उठेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ