arrow

‘कुलिङ पिरियड’ मा शब्दको चलखेल सुविचारित षड्यन्त्र, छानबिन हुनुपर्छ: सांसद सापकोटा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
madhav-sapkotas.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले 'कुलिङ पिरियड' सम्बन्धी विधेयकमा भएको शब्दको चलखेललाई ‘सुविचारित तरिकाले गरिएको षड्यन्त्र’ भएको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो ‘संसदमाथिको गम्भीर अपराध’ भएको जिकिर गरे।

सांसद सापकोटाले यस विषयमा मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा ‘देउसी खेलिएको’ पृष्ठभूमि स्पष्ट रहेको बताए। उनले राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रूपमा समझदारी कायम भएपछि पनि समितिको बैठक नबोलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिवेदन बुझाएको बताए।

"यो सुविचारित तरिकाले गरिएको षड्यन्त्र हो। यसलाई हामीले यसरी नै लिएका छौँ। संसदमाथिको गम्भीर अपराध हो। यसलाई सामान्य रूपमा लिन सक्दैनौँ," सापकोटाले भने, "जानाजानी समिति सभापति जानकार हुनुहुन्छ भने यो त कीर्ते जालसाझी हो। उहाँको संलग्नता छैन भने उहाँले हस्ताक्षर गरेको प्रतिवेदनमा कहाँबाट आयो।" उनले नैतिक रूपमा समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने र उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने माग गरे।

सापकोटाका अनुसार, सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो। यो प्रावधानले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन र सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो।

तर, समितिबाट पारित भएको विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक’ भन्ने शब्द राखिएको थिएन। प्रतिनिधि सभामा पुग्दा भने ‘बाहेक’ भन्ने शब्द राखिएको पाइएकाले प्रश्न उठेको सापकोटाले जानकारी दिए।

उनले छानबिनको अवस्था नबनेसम्म राज्य व्यवस्था समितिको बैठक बस्न नसक्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ