नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता बढ्दै गएको मन्त्री भण्डारीको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
598
Shares
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली श्रम बजारमा विदेशी श्रमिकको बाहुल्यता विस्तार हुँदै गएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको श्रम र पुँजीबजार दुवै संकुचनमा रहेको जानकारी दिए।
मन्त्री भण्डारीले नेपालको पुँजीबजार गुञ्जायमान हुन नसकेको र श्रम बजार पनि अपेक्षित रूपमा विकसित हुन नसकेको उल्लेख गरे। उनले भने, "श्रम बजार हेर्ने हो भने आज नेपालीले भन्दा अन्तैले श्रम बजार आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको छ।"
यसको मुख्य कारण नेपालको शिक्षा प्रणालीले श्रम बजारको आवश्यकता पूरा गर्न नसक्नु रहेको उनको भनाइ छ। "नेपालको श्रम बजारले जे कुरा खोजिरहेको छ, हाम्रो शिक्षा प्रणालीले त्योभन्दा फरक खालको उत्पादन गरिरहेको छ," उनले थपे। उनले नेपाली युवाहरूले लामो समय र ठूलो लगानी शिक्षामा लगाए पनि आफ्नो विवेक प्रयोग गरी श्रम बजारमा स्थान बनाउन नसकेकोमा चिन्ता व्यक्त गरे।
मन्त्री भण्डारीले श्रम बजारमा रहेका समस्याहरूको समाधानका लागि सरकार लागिपरेको बताए। उनले नेपाली श्रम बजार नेपालीहरू र नेपाली सीपको बजार बन्नुपर्नेमा जोड दिए। सरकारले आगामी आर्थिक वर्षको बजेटमा 'पढ्दै कमाउँदै' भन्ने नयाँ कार्यक्रम ल्याएको जानकारी पनि उनले गराए।