arrow

एमालेमा ओलीको रटान र विद्याको फर्काइको तरङ्ग

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८२ असार १६ सोमबार
rajendra-panthi-82-3-16.jpg

नेपाली राजनीतिमा अहिले फर्कने र फर्काउने भन्ने शब्दहरू निकै चर्चा र बहसमा छन् । कसैले पूर्व राजालाई फर्काइन्छ र फर्कन्छन् भन्दैछन् भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त एक सार्वजनिक कार्यक्रममार्फत नेकपा एमालेमा फर्केको घोषणा गरिन् ।

उता पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादीमा फर्केर सक्रिय नै भएका छन् । नेपालको संविधान २०७२ को भाग ६ मा धारा ६१ देखि ७३ सम्म राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिएको छ । संविधानअनुसार राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र एकताको प्रवर्द्धन गर्ने व्यक्ति भनेर चिनाइएको छ । राष्ट्रपति र उपराष्ट्रपति भनेका देशका गहना र सम्पदा हुन् । यिनीहरू कार्यकालमा रहँदा वा नरहँदा पनि यिनीहरूको चिनारी पहिचान र राष्ट्रको पहिचानसँग नै जोडिएको हुन्छ । 

यी पदहरू दलीय पदभन्दा धेरै माथिका सम्मानयोग्य पद हुन् । यी नेपाली आमजनताका अभिभावक हुन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनले आफ्नो व्यक्तित्व, पद, प्रतिष्ठा, ओहोदा र इज्जतलाई तिलान्जली दिएर पुन: दलीय राजनीतिमा फर्केका छन् । पूर्व राष्ट्रपति वा उपराष्ट्रपतिले राजनीति गर्नु हुन्न भनेको होइन,कुनै पनि दलमा सक्रिय हुनुहुँदैन भन्न खोजेकोमात्र हो । 

कहाँको राष्ट्रपति र उपराष्ट्रपतिको ओहोदा र गरिमा,कहाँको दलको झोले नेतृत्व वा कार्यकर्ता ? नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा कार्यकारी अधिकार नै नभए पनि यी प्रधानमन्त्रीभन्दा माथिका पदहरू हुन् । राष्ट्रको अस्तित्व र पहिचानसित जोडिएका पद हुन्।यी पदका व्यक्तिहरू पूर्व हुँदा पनि आम जनताको अभिभावकत्व ग्रहण गरिरहेका हुन्छन् ।

जनताले दिएको सम्मान सगरमाथाको शिखरमा पुगी रेकर्ड राख्ने जस्तो कुरा होइन । जनताले दिएको सम्मानलाई सम्बन्धित व्यक्तिले सधैभरि नै जोगाइरहनु पर्छ । दलबाट अलग भएर बस्न सकिँदैनथ्यो भने त्यो पदमा जानुपूर्व नै सोच्नुपर्ने थियो । हिजो जनताको माया र आशीर्वादबाट देशको राष्ट्राध्यक्षसम्म बन्ने अनि आज राष्ट्रलाई एकातिर धकेलेर वा कुल्चेर आफ्नो व्यक्तिगत स्वार्थका लागि स्वनिर्णय गरिनुले देशका संवैधानिक संरचना र अङ्गहरू विश्वासिला र बलिया बन्दैनन् । 

राष्ट्र  र जनताको सेवाको लागि दलकै टीका लगाउनुपर्छ र झोले नै हुनुपर्छ भन्ने छैन । पूर्व राष्ट्रपतिले राजनीतिमा फर्किएँ भनेर घोषणा गरिनु नेपाली जनताको लागि सुखद खबर होइन । यो पदको गरिमा र महत्त्व बुझ्न नसकेको अवस्था हो । विद्या र नन्दकिशोरको पुनरागमनले यी पदहरूको गरिमा र ओहोदाको महत्त्व घटेको देखिन्छ । नेपाली राजनीतिलाई कमाउने एउटा महत्त्वपूर्ण व्यवसाय नै बनाइएका कारण यी र यस्ता क्रियाकलाप देखिएका हुन् । 

मान्छे राजनीतिक प्राणी हो तर सामाजिक नेतृत्वका लागि दलीय झोला नै बोक्नुपर्छ भन्ने केही छैन । दलमा गुटहरूको नेतृत्व गर्न यिनको आवश्यकता देखिए पनि राष्ट्रको नै नेतृत्व गर्न यिनको तत्काल आवश्यकता थिएन । यी फर्किएका भनिएका र फर्किने भनिनेहरू आफ्नो मर्यादासमेत जोगाउन नसक्ने पदलोलुप राजनीतिक व्यवसायी हुन् । यस्ता कामचोर राजनीतिक व्यवसायीले देश र जनताको लागि केही गर्न सक्दैनन् । यी पात्रहरू परीक्षणबाट असफल प्रमाणित भएका पनि हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि राजाको गरिमालाई बुझ्न नसकेर नेपालको राजसंस्थाको  इतिहास र अस्तित्वलाई नै आफैँ समाप्त पारेका हुन् । आज गणतन्त्रवादी भनिनेहरूले गणतन्त्रलाई जोगाउन र संरक्षण गर्न नसकेको अवस्थामा राजतन्त्रवादीहरूले राजा फर्काइन्छ भनेर धमिलो पानीमा माछा मार्ने प्रयत्न गरिरहेका देखिन्छन् ।

 गणतन्त्र कमजोर भएको अवस्थामा पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किनुले सकारात्मक सन्देश दिएको छैन । विद्यादेवी भण्डारी र नन्दकिशोर पुनले दलमा फर्किएर राष्ट्रपति र उपराष्ट्रपतिको पद र गरिमालाई निकै कमजोर बनाएका छन् । 

आज नेपालका दलहरूभित्र देखिएको विकृति र विसंगति, सैद्धान्तिक विचलन र भ्रष्टाचारको चरम रुपको प्रकटीकरणले गर्दा पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरू दलमा फर्किनुले जनतामा दलहरूप्रतिको विश्वास र आस्था अझै कमजोर हुने र गुटीय राजनीति भने बलियो हुँदै जाने देखिन्छ । 

आज देशका सम्माननीय व्यक्तिहरू नै झोले भनेर चिनिने भएका छन् । नेपालको कानूनले दलमा फर्केर राजनीति गर्न प्रतिबन्ध नलगाए पनि यी फर्किएका पात्रहरू र फर्किने भनिने पात्रहरू कुनै विशेष दल र देशको समृद्धिको लागि उपयुक्त पात्र होइनन् । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अनि पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले आफ्नो कार्यकालमा नेपाललाई ओहो ! भन्ने के गरे र ? 

तिनीहरूहरूमा अद्भूत के क्षमता छ र ? किन फर्काउने ? कसैको लहडमा अकारण यी सबै क्रियाकलापहरू देखिनु र गरिनु लोकतन्त्रलाई थप कमजोर बनाउने खेल बाहेक अरु केही होइनन् । एउटै व्यक्ति अकारण बारम्बार राष्ट्रपति, प्रधानमन्त्री बनिरहनु पर्ने ? यस्ता बकम्फुस गफ र भीडले देश बन्दैन । न लोकतन्त्रको विकल्प राजतन्त्र हुन्छ, न केपी शर्मा ओलीको विकल्प विद्यादेवी भण्डारी नै हुन सक्छिन् । 

नेपालीमा एउटा उखान छ - सौताको रीसले पोइका काखमा के गर्ने भन्छन् । यो पाराले देशको थप दुर्गति हुने देखिन्छ । असक्षम र असफल पात्रलाई बारम्बार देशको जिम्मेवार पदमा अवसर दिनु भनेको देशलाई थप अस्थिरता र अधोगतितिर धकेक्नु नै हो ।

यतिबेला नेकपा एमालेमा विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको कुराले अलि धेरै चर्चा र संशय फैलिएको छ । भण्डारी एउटा छुट्टै पहिचान र इतिहास बनाएकी पात्र हुन् । उनी नेपाल सरकारको मन्त्री, एमालेको उपाध्यक्ष हुँदै राष्ट्राध्यक्षसम्म बनेकी महिला हुन् । उनी राजनीतिक रुपमा सफल र कम विवादित महिला पनि हुन् । 

विद्या भण्डारी जननेता मदन भण्डारीकी पत्नी हुन् । विद्या जननेता मदन भण्डारीको विरासत र उनकै पनि आफ्नै राजनीतिक योगदानको परिणामस्वरुप देशको सर्वोच्च पदमा पुग्न सफल भइन् । उनीमाथि आफू राष्ट्रपति र एमालेकै अध्यक्ष प्रधानमन्त्री हुँदासमेत आफ्ना श्रीमान् जननेता मदन भण्डारीको दासढुंगा दुर्घटनाको छानबिन र सत्यतथ्य रिपोर्ट बाहिर ल्याउन सकिनन् भने अरु के नै गर्न सक्छिन भन्ने आरोप छ । जबकि मदन भण्डारीको निधनपछि सत्ता कांग्रेसले चलाइरहँदा एमालेको विशेषगरी केपी ओली र विद्या भण्डारीले गत वर्षको मदन भण्डारीको स्मृति दिवससम्म पनि छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताउँदै राजनीति गरिरहे । 

तिनै विद्या आफूले प्राप्त गरेको हिजोको त्यो राष्ट्रपतिको  गरिमा र उचाईलाई आफैँले कुल्चेर झोले कमरेडमा परिणत भएकी छन् । एमाले भित्रको एउटा असन्तुष्ट गुटको उक्साहट, भित्री वा बाहिरी कसैको खेलमा विद्या भण्डारीले आफ्नो पदीय गरिमा र राजनीतिक छवि समाप्त पारेकी छिन् । यद्यपि आगामी दिनमा विद्याले ओलीकै ठाउँमा अध्यक्ष वा प्रधानमन्त्री नै भए पनि पूर्व राष्ट्रपतिको जुन उचाई प्राप्त गरेकी थिइन् त्यो बराबरको सम्मान अब प्राप्त गर्न सक्दिनिन् । 

उनले आफ्नो मान र प्रतिष्ठा आफैँ गुमाइन् । हिजो पूर्व राष्ट्रपति हुँदापनि विद्यादेवी  भण्डारीले सम्पूर्ण नेपालीहरूको  एउटा अभिभावक कै सम्मान पाएकी थिइन् तर आज एमालेकी मात्र कमरेड र झोलेमा खुम्चेकी छिन् । मरिच किन चाउरिस ? आफ्नै रागले । हो, विद्यादेवी भण्डारी पनि एमालेमा अध्यक्ष वा प्रधानमन्त्रीको लोभले आफूले प्राप्त गरेको हैसियत र मानलाई खुम्च्याएकी छिन् । 

राष्ट्रपति बराबरको पदीय सम्मान एमालेको अध्यक्ष वा प्रधानमन्त्री हुन सक्दैन । विद्या भण्डारी एमालेमा फर्केर अध्यक्ष वा प्रधानमन्त्री नै भए पनि वाहा ! बन्न गार्‍हो छ । अहिलेको नेपालको वर्तमान राजनीतिक परिदृश्य, परिस्थितिलाई र केवल बेइमानीको खेल चलिरहँदा विद्याले अब देशको पहिलो महिला राष्ट्रपति भन्ने  जत्तिको मर्यादा र सम्मान पाउन सक्दिनिन् । उनी दलभन्दा बाहिर नै बसेर सामाजिक सेवामा सक्रिय हुनुपर्थ्यो । अब त्यो मौका गुमाइन् । उनी एमालेकी झोले बनिन् ।

यदि एमालेमा ओलीको विकल्पमा विद्या आएकी नै हुन् भने अब पार्टीमा ध्रुवीकरण बाहिर छताछुल्ल हुनेछ । ओलीको रटान र विद्याको फर्काइले एमाले थप संकटमा जाने पक्का छ । हिजो ओलीकै साथ र सहयोगमा पार्टीको उपाध्यक्ष हुँदै राष्ट्रपतिसम्म बनेकी विद्यालाई अहिले ओलीले आफ्नो विकल्पमा ल्याउन तयार भएका छैनन् । 

ओलीले विद्यालाई ल्याउन तयार नभएकोले एमालेमा विद्या भिज्न र नेतृत्वकै प्रतिस्पर्धी बन्न अत्यन्तै जटिल देखिन्छ । ओलीको विकल्प खोज्नेहरूले विद्यालाई रोज्दा कतै विद्याको छवि सकाउने खेल त खेलिएको होइन भन्ने शंका पनि पैदा हुन्छ । 

ओलीको मेख मार्न विद्यालाई ल्याइएको हो भने यो खेल सफल हुन निकै गार्‍हो देखिन्छ । ओलीले आफूलाई अझै तन्नेरी नै छु भन्ने रटानले दर्शकलाई एकछिन एमालेभित्रको हिलो छ्यापाछ्याप र दोहोरी हेर्न र सुन्न रमाइलो नै हुने देखिन्छ तर स्वस्थ्य र लोकतान्त्रिक निकास वा ओलीको विकल्पमा विद्या आउने सम्भावना निकै कम देखिन्छ । 

एमालेमा ओलीको जग निकै बलियो देखिन्छ । अहिले एकै दर्जनले नै विरोध गर्दैमा पनि ओलीको जग हल्लिन सक्दैन । मदनको नीति र विद्याको नेतृत्व भनेर सामाजिक संजालमा पोस्टर सार्वजनिक गरिएको देखिन्छ । मदनको नीति बोक्न भनेर ओलीको विकल्प बन्न आएकी विद्यालाई ओलीले पहिलो गाँसमा ढुङ्गा भनेजस्तै पहिलो दिनमै मदन भण्डारीलाई विवादित पात्रका रूपमा स्थापित गरेका छन् । 

ओलीले बिना प्रसङ्ग जननेता मदन भण्डारीका बारेमा अहिलेसम्म सुन्दै नसुनेका कुराहरू चार वटा श्रीमती भएको, सहकारी ठग र राजनीतिमा फुत्त आएको आरोप लागेको थियो भनेर नयाँ विवादको विजारोपण गराएका छन् । 

यसले विद्याको पुनरागमनको लागि गतिलो सङ्केत होइन । अरुलाई तुच्छ घृणा र गाली गर्न माहिर राजनीतिक खेलाडी ओलीले अहिले नै विद्या आफ्नो प्रतिस्पर्धी बन्न आइन् भने विद्याले आगामी दिनमा यस्ता थुप्रै व्यक्तिगत, राजनीतिक र चारित्रिक आरोपहरूको स्पष्टीकरण र जवाफ दिइरहनुपर्नेछ । 

ओलीले आफूलाई अध्यक्षमा पुन: तेहेर्याउन खोजे भने विद्याको अवस्था भीम रावल जस्तै बन्ने पक्का छ । कल्पना गरौँ-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अहिलेको भीम रावलको अवस्थामा पुगिन् भने के होला ? साँच्चै नै ओलीले विद्यालाई विकल्पमा उतारेनन् भने यो स्थिति आउने पक्का नै देखिन्छ । 

अहिले नेकपा एमाले भनेको ओलीको व्यक्तिगत कम्पनी जस्तो छ।एमालेमा तलदेखि माथिसम्म र पूर्वदेखि पश्चिमसम्म ओलीको निरंकुशता र सांगठनिक  जालो अत्यन्तै बलियो भएर फैलिएको छ।एमाले भनेको ओली र ओली भनेकै एमाले भन्ने नै देखिन्छ।अहिले एमाले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास नहुने हुनाले ओलीको यो कडा जालोलाई तोड्न विद्याले कसरी सक्छिन् ?, हेरौँ ।

अहिले नेपालका कुनै पनि दलमा आस्था,विचार र सिद्धान्तको खडेरी परेको हुनाले विद्या र विद्यालाई उकास्ने र बोक्नेहरूले ओलीतिरको एमालेको भारी फुटाउन र टुटाउन अत्यन्तै गार्‍हो हुने देखिन्छ । स्वतन्त्र र स्वस्थ्य प्रजातान्त्रिक प्रतिस्पर्धा नहुने हुनाले ओलीको राजनीतिक टिमसँग विद्याको टिम प्रतिस्पर्धा गर्न अत्यन्तै गार्‍हो छ । 

ओलीका भक्त र सारथीहरू लामो समयसम्म उनकै गुणगानमा रमाएर राजनीति व्यवसाय गर्न पल्किएका हुनाले ओलीलाई बाँचुञ्जेल एमालेको अध्यक्ष भएको हेर्न चाहन्छन् । अहिलेको परिस्थितिमा जबसम्म ओलीले नै विद्यालाई अगाडि सार्दैनन् तबसम्म विद्या सफल हुन सक्दैनिन् र अन्ततः यो विद्याको आगमनले केवल पार्टी फुटाउनेसम्मको खेलमा गएर टुङ्गिने देखिन्छ ।

यदि ओलीले आफ्नो विकल्पमा विद्यालाई उतारे र कथम् कदाचित् विद्या अध्यक्ष बनिन् भने केही कम्युनिष्ट पार्टीहरूका बीचमा एकता पनि हुन सक्छ । एमालेको संस्थापन पक्षबाट असन्तुष्टहरू र फुटेकाहरूले विद्याको पुनरागमनले फुटेका र टुटेका कम्युनिष्ट जोडिन्छन् पनि भनिरहेका छन् । इतिहासलाई हेर्दा जो कोही नेतृत्वमा आए पनि फुटेका झोले कम्युनिस्टहरू जोडिन निकै मुस्किल हुने  देखिन्छ । विद्याको चीन भ्रमणले कम्युनिष्ट मिलाउन सीले आशीर्वाद दिएको अड्कल धेरैको छ । विद्याले पार्टीको नेतृत्व कला सिकेर आएकोसमेत उनी निकटका नेताहरुले बताउने गरेका छन् । 

बाहिरी आँखाले हेर्दा एमालेमा ओलीले फेरि पनि म नै अध्यक्ष बन्नुपर्छ भनिनु र विद्याले अबको विकल्प म नै हुनुपर्छ भनिनु समय सान्दर्भिक र उपयुक्त विकल्प होइन । नेपालका सबै पार्टीमा रुपान्तरण र पुस्तान्तरण आवश्यक भएको सन्दर्भमा एमालेमा ओली वा विद्याले अबका युवाका आशा र चाहनालाई सम्बोधन गरी नेपाललाई समृद्ध मुलुक बनाउन सक्दैनन् ।

यी दुवै पात्रहरूमा उमेर र क्षमताको दृष्टिकोणले देशलाई हाँक्ने सामर्थ्य छैन । अब एमालेमा नेतृत्वका लागि ओली र विद्या होइन । अब एमालेमा विष्णु पौडेल,पृथ्वीसुब्बा, प्रदीप ज्ञवाली, शंकर पोखरेल, गोकर्ण बिष्ट, योगेश भट्टराई, पद्मा अर्याल, सूर्य थापा, महेश बर्तौलाहरूकै बीचमा लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्छ । 

यद्यपि यही स्थिति र गतिले एमालेमा यी माथि दिइएका पात्रहरू वा अरु कोही नयाँ आए पनि नयाँ केही हुन सक्दैन । एमालेका सबै पुस्ताहरू सच्चिनुपर्छ । समयमै सचेत नहुने हो भने एमालेमा अहिलेको ओलीको रटान र विद्याको फर्काइले गुटीय द्वन्द्व थप चर्किदै जान्छ र यसले पार्टी थप कमजोर भई अन्तमा फुट्ने अवस्थासम्म पुग्ने देखिन्छ ।

अहिले एमाले भित्रको मुख्य आवश्यकता भनेको नेतृत्व र कार्यकर्तामा विचार,आस्था र लोकतान्त्रिक आचरणको विकास जगाउनु नै हो । ओली र विद्याहरू पार्टीबाट बाहिर नै बसेर नयाँ पुस्ता र अनुहारलाई प्रेरणा दिई अभिभावकत्व ग्रहण गर्नुपर्छ। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ