भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बेलुकी माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षामा सहभागि भएका चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए ।
परीक्षामा दुई लाख ७१ हजार २९९ परीक्षार्थी ग्रेडेड अर्थात उत्तीर्ण भएका छ्न् । जसमध्ये ३.६ देखि ४ जीपीए अर्थात विशिष्ठ श्रेणी ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ जना रहेका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए प्राप्त गर्ने ८९ हजार १२४ जना, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र २ जीपीएभन्दा कम ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।
नन् ग्रेडेड अर्थात् परीक्षामा अनुतीर्ण हुने एक लाख ६७ हजार ५९७ परीक्षार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । परीक्षामा सहभागीमध्ये १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।
सबैभन्दा बढी बागमतीमा, सबैभन्दा कम कर्णाली प्रदेशमा उत्तीर्ण
परीक्षामा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट उत्तीर्ण भएका छन् भने सबैभन्दा कम विद्यार्थी कर्णाली प्रदेशमा उत्तीर्ण भएका छन् । बागमती प्रदेशबाट सबभन्दा बढी एक लाख १९ हजार ५१७ जना विद्यार्थी पास भएका छन् भने कर्णाली प्रदेशबाट सबैभन्दा कम ४६ हजार ४५५ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी कोशी प्रदेशबाट ४७ हजार ८३५, मधेस प्रदेशबाट ५९ हजार ७४९, गण्डकी प्रदेशबाट ४७ हजार ८४९, लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ९७ हजार ६८७ जना र सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी उत्तीर्ण भएको बोर्डका अध्यक्ष डा शर्माले बताए ।
पर्रीक्षार्थी कोशी प्रदेशमा २३ हजार ६३१ जना, मधेस प्रदेशमा ४२ हजार ७७९ जना, वागमति प्रदेशबाट २० हजार ९४६, गण्डकी प्रदेशबाट ११ हजार ३२८, लुम्बिनी प्रदेशबाट २८ हजार २७४ जना कर्णाली प्रदेशबाट १३ हजार ७६५ जना र सुदुरपश्चिम प्रदेशबाट २६ हजार ८७६ जना परीक्षार्थी उनुत्तीर्ण भएका छन् ।