arrow

मन्त्री लोड टेस्टको तयारीमा

पप्पु फेल [फोटोफिचर]

एकै समयमा निर्माण शुरू भएका काठमाडौँको तीनकुने र टेकु–कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
bridge-kathmandu-pappu.jpg

काठमाडौँ । एकै समयमा निर्माण शुरू भएका काठमाडौँको तीनकुने र टेकु–कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन् । त्यहीबेला काम थालिएका बिजुलीबजार र डल्लुको पुल सञ्चालनमा आएको लामो समय भइसक्यो तर तीनकुने र टेकु पुलको अवस्था भने दर्दनाक छ ।

२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौँका चार पक्की पुलको ठेक्का पाएको थियो । एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो । 

पप्पु कन्स्ट्रक्सनले चारवटै पुलको निर्माण २०७४ सालमा सक्ने गरी सम्झौता भएको थियो । म्याद थप्दै थप्दै २०७६ सालमा बिजुलीबजारको पुल सञ्चालनमा आयो । डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्‍यो र सञ्चालनमा आयो ।

टेकु पुलमा भने निर्माण कम्पनीको बदमासी फेला पर्‍यो । त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गर्‍यो । ठेकेदार कम्पनीले कमसल गुणस्तरको सामग्री प्रयोग गर्दा पुल सवारी चलाउन अयोग्य भएको हो । अहिले पनि यो पुलमा सवारीसाधन चलाउन पाइँदैन ।

अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योलमा छ । गत जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए । 

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागिपरेको बताएका हुन् ।  

पहिले नै अयोग्य भइसकेको पुललाई अहिले मन्त्रीले परीक्षण गर्छु भन्नु नै फेरि भ्रष्टाचारको गन्ध आएको दाबीसमेत गर्न थालिएको छ । पहिले नै अयोग्य भइसकेपछि अब फेरि परीक्षण गर्दा के आधारमा पुल सही भेटिन्छ ? भन्दै सरोकारवालाले प्रश्न तेस्र्याउन थालेका छन् । 

तीनकुनेको पुल त झन् बन्दै बनेन । २०७१ सालमै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ । तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण थालेपछि बीचमै सडक विभागले काम रोकिदिएको थियो । 

२०७७ सालमा काम रोकिएकोमा अहिलेसम्म सुचारु भएको छैन । गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको छ । अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ।

अलपत्र संरचना सवारीसाधन र पैदल यात्रुका लागि जोखिम बनेको छ । पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो ।

पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन लागेको सरकारी अधिकारीहरुले बताएका छन् ।

टेकु र तीनकुने पुलमा सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रमा बिहान र बेलुकी सवारीसाधनको जाम हुने गरेको छ । पप्पु पहिलेदेखि नै बदनाम निर्माण कम्पनी हो । 

pappu-construciton-tinkune (2).jpg
pappu-construciton-tinkune (14).jpg
pappu-construciton-tinkune (13).jpg
pappu-construciton-tinkune (12).jpg
pappu-construciton-tinkune (11).jpg
pappu-construciton-tinkune (10).jpg
pappu-construciton-tinkune (9).jpg
pappu-construciton-tinkune (8).jpg
pappu-construciton-tinkune (7).jpg
pappu-construciton-tinkune (6).jpg
pappu-construciton-tinkune (5).jpg
pappu-construciton-tinkune (4).jpg
pappu-construciton-tinkune (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ