बागलुङ । बागलुङमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा गलकोट नगरपालिका वडा नं ८ का श्याम सुनार, नवीन गलामी, टिकाराम कामी, अनिल श्रीष र विज्ञान गलामी छन् । उनीहरुको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।
बडिगाड गाउँपालिका नगर प्रहरी हवल्दार कमल रानाका अनुसार बागलुङको बडीगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा लु१ख ८२८६ नम्बरको बस र ध१ज ४२० नम्बरको पिकअप जीप एकापसमा ठोकिँदा दुर्घटना भएको हो ।
बसमा नौ र जीपमा सात जना यात्रु सवार थिए । जीप गलकोटबाट बोबाङतर्फ र बस बुर्तिबाङबाट बुटवल जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए ।
जीप चालक कृष्णबहादुर खत्री र बस चालक श्यामबहादुर रजौंलीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।