सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीमाथि संसदीय समितिमा छलफल
सुनुवाई आईतबार
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
2.1k
Shares
काठमाडौँ। संसदीय सुनुवाइ समितिले शुक्रबार सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध परेका उजुरीमाथि उजुरीकर्ताहरूसँग छलफल गरेको छ।
सिंहदरबारमा बसेको समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा विरुद्ध परेका उजुरीहरूमाथि छलफल भयो।
उजुरीकर्ता मनोजकुमार क्षेत्रले प्रस्तावित न्यायाधीश पोखरेलमाथि सार्वजनिक बाटो मास्नका लागि किर्ते कागजात तयार पारेको आरोप लगाएका छन्। क्षेत्रले पोखरेलकै प्रभावमा जिल्ला अदालत काठमाडौँले उक्त कागजात किर्ते नरहेको ठहर गरेको दाबी पनि गरे। उनले यस विषयमा नेपाल कानुन व्यवसायी परिषद्मा उजुरी गर्दा क्षेत्राधिकार नरहेको भन्दै आफूलाई पत्र लेखिएको बताए।
प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध उजुरीकर्ता आरती रावलले जिल्ला अदालत बाँकेका एक कर्मचारीले आफूलाई गलत मनसायले मुद्दा लगाई फसाउने उद्देश्य राखेकाले कारबाहीका लागि निवेदन गरेकोमा थापाले प्रक्रिया अघि नबढाएको आरोप लगाएकी छन्। रावलले उच्च अदालत दिपायलको मुख्य न्यायाधीश रहँदा थापाले आफ्नो गुनासो सम्बोधन गर्नुको सट्टा सत्ता र शक्तिको दुरुपयोग गरी आफूलाई २५ दिन हिरासतमा राखेको आरोप पनि लगाइन्। उनले आफूले उक्त मुद्दामा पूर्ण रूपमा सफाइ पाइसकेको बताइन्।
प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई/दुई वटा उजुरी परेका थिए भने अर्का प्रस्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो। उजुरीकर्ताहरूसँगको छलफल सकिएसँगै समितिले आगामी आइतबार सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ।