जलवायु परिवर्तनको असर : बाह्रै महिना देखिन थाल्यो डेंगी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
619
Shares
कञ्चनपुर । सामान्यतया गर्मी र वर्षात्को समयमा मात्र देखिने डेंगी रोग सुदूरपश्चिम प्रदेशमा अब बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरका कारण लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु र वर्षा चक्रको अनियमितताले डेंगीको सङ्क्रमण बढ्दै लगेको छ।
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि भएको बताए। उनले भने, "तापक्रम र वर्षाको चक्रले डेंगीको जोखिमलाई बढाएको छ। पहिला गर्मी र वर्षाका बेलामात्र डेंगीको सङ्क्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेंगी सङ्क्रमण देखिन थालेको छ। वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ।" लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेंगीको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको उनको भनाइ छ।
जोशीका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी सङ्क्रमण देखिएको छ। यस अवधिमा डडेल्धुरामा सबैभन्दा बढी (३४ जना) र त्यसपछि कैलालीमा (३१ जना) डेंगीको सङ्क्रमण देखिएको छ। कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा २ जनामा सङ्क्रमण देखापरेको छ। बैतडीमा भने सोही अवधिमा डेंगीका बिरामी भेटिएका छैनन्।
एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेंगी सर्ने भएकाले पानी जम्ने ठाउँ र प्लास्टिकजन्य फोहोर व्यवस्थापन हुन नसक्दा डेंगी सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको छ। जोशीले डेंगीलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्नेमा जोड दिए।
उनले जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेंगीसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने बताएका छन्। वर्षात्को समय सुरु भएकाले डेंगीको सङ्क्रमण तीव्र रूपमा बढ्न सक्ने भन्दै वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले गर्मी र वर्षात्को समयमा डेंगी सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुने भएकाले यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक रहेको बताए। स्वास्थ्यकर्मीहरूका अनुसार डेंगी सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने तथा विद्यालयमा डेंगीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।