काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मलको हाहाकार सधैँ भइरहने स्वीकार गरेका छन्। उनले बजेटको सीमितता र मागअनुसारको आपूर्ति नहुँदा यो समस्या कायम रहने बताएका हुन्।
मन्त्री अधिकारीले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरिएको र यसबाट जम्मा साढे ४ लाख टनभन्दा बढी मल आयात गर्न नसकिएको बताए। उनले बजारमा मलको माग ११ लाखदेखि १३ लाख टनको हाराहारीमा रहेको भन्दै, "एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पुऱ्याउन सक्छौँ? सम्भावनै छैन," भने।
उनले राज्यको दायित्वका कारण 'चिन्ता नगर्नुस्, छ आउँछ' भन्नुपरेको तर वास्तविकता फरक रहेको आशय व्यक्त गरे।
मन्त्री अधिकारीले किसानलाई भुक्तानी दिन नसकेकोमा पनि दुःखेसो पोखे। "हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ। उधारो दुध वर्षौँदेखि खाइरहेका छौँ। त्यो कहिले तिर्ने?" उनले भने। उनले चिस्यान केन्द्र, बीमा लगायतका धेरै समस्याहरू कृषि क्षेत्रमा रहेको पनि बताए।
मन्त्री अधिकारीले पदभार ग्रहण गर्दा धेरै परिवर्तन गर्ने रहर भए पनि आर्थिक सीमितता र सङ्कुचनका कारण धेरै कुरा गर्न नसकेको स्पष्ट पारे। उनले किसानलाई कुनै पनि हालतमा धोका नदिन आग्रह गर्दै तल्लो तहका मानिसहरूको समस्याप्रति संवेदनशील हुन सबैलाई आह्वान गरे।