arrow

संसदीय सुनुवाइ समिति

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यमाथि सात उजुरी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
iswari-devis.jpg

काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना र न्याय परिषद्को सदस्यमा प्रस्तावित एक जनामाथि कुल सातवटा उजुरी परेका छन्। बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यस सम्बन्धमा जानकारी गराएको हो।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले बैठकमा बोल्दै सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा तथा न्याय परिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिएको जानकारी दिइन्।

सातै जना उजुरीकर्ताहरूलाई असार १३ गते समितिको बैठकमा बोलाएर जानकारी लिइनेछ। त्यस्तै, असार १५ गते बस्ने समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको सभापति न्यौपानेले बताइन्।

उनले भनिन्, "१३ गतेको बैठकमा उजुरीकर्ताहरूलाई बोलाएर उजुरी सुन्ने र १५ गते न्याय परिषद्मा सिफारिस सदस्य र सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्तिहरूलाई बोलाएर उहाँहरूका कार्ययोजना सुन्ने र त्यसैदिन निर्णय हुन्छ। त्यो दिन निर्णय हुन नसके अर्को दिन पनि हुनसक्छ।"

प्रस्तावित न्याय परिषद् सदस्य महेशकुमार नेपालमाथि पाँचवटा उजुरी परेका छन्। बाँकी दुईवटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन्। बैठकले प्रस्तावित न्यायाधीशहरू पोखरेल, पौडेल र थापाका कार्ययोजना र न्याय परिषद् सदस्य नेपालका कार्ययोजनाको प्रति समिति सदस्यहरूलाई वितरण गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ