तस्बिर – उपप्रमुख नितु थापा कोइराला (बायाँ) र लेखा प्रमुख धनमाया राई ।
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले असार १० गते मंगलबार आर्थिक वर्ष २०८२।८३ को बजेट सार्वजनिक गर्यो तर सोही बजेटका विषयमा छलफल र पास नहुँदै नगरपालिकाभित्र नयाँ खिचडी पाकिरहेको विषय सार्वजनिक भएको छ ।
केही दिनअघि बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइलालाले नगरपालिकाले विभिन्न शीर्षकहरुमा भइरहेको बजेट हेर्न पाउनुपर्ने माग गर्दै लेखा प्रमुख तथा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत धनमाया राईलाई केही शीर्षक र केही कर्मचारीहरुले लिइरहेको विभिन्न शीर्षकको भत्ता रकमको जानकारी मागेकी थिइन् ।
लेखा प्रमुख राईले त्यसरी हिसाब हेर्न नमिल्ने र गोपनियता भंग हुने भन्दै हिसाब देखाउन नमानेपछि उपप्रमुख कोइरालालाई विभिन्न शीर्षकमा छुट्टिएको बजेटको लिष्ट दिएकी थिइन् ।
सोही लिष्ट मागेको नभई केही खर्चका शीर्षकहरुमा भएका खर्चको विवरण माग गरेको उनले बताएपछि हिसाब देखाउन नमिल्ने बताएकी थिइन् ।
उपप्रमुख कोइरालाले आफू अनुगमन समितिको संयोजकसमेत रहेको र नगरपालिकाले गरिरहेको खर्चको विवरण माग गर्दा उल्टै दिन नमिल्ने भन्दै लेखा प्रमुख पन्छिएको बताएकी छिन् ।
उनले 'यो कस्तो हिसाब हो, जुन नगरपालिकाको उपप्रमुखले माग्दासमेत कर्मचारीले देखाउँदा हेर्न मिल्दैन ?' प्रश्न गरिन् । केही शीर्षकहरुमा भइरहेको खर्च अस्वभाविक भएको गुनासोसमेत आएपछि आफूले हिसाब हेर्न खोजेको उनको दाबी छ ।
यता लेखा प्रमुख राईले हरेक महिनाको हिसाब सार्वजनिक गर्ने गरेको र उपप्रमुखलाई समेत मागेको र दिन मिल्ने हिसाब दिएको तर गोपनियतालाई समेत मध्यनजर गर्दै ब्यत्तिगत र कतिपय हिसाब दिन नमिल्ने भएका कारण नदिएको बताएकी छिन् ।
उनले आन्तरिक लेखा परीक्षक र महालेखा परीक्षकले समेत हिसाब हेर्दा विभागको पत्र लिएर आउने गरेको र कसैले ब्यत्तिगत रुपमा हिसाब हेर्न माग्दा दिन नमिल्ने बताएकी छिन् ।
उनले आफूलाई थाहा भएसम्म हिसाब हेर्न सबैलाई अधिकार नभएका कारण हिसाब हेर्न नदिएको तर प्रमुख प्रशासकीय अधिकृतले हिसाब हेर्न दिनु भनेको खण्डमा हिसाब हेर्न दिने बताइन् ।
उपप्रमुख कोइरालाले भने हिसाब देखाउन नमान्नु शंकास्पद भएको र यस विषयमा कुरा राख्दा नगरप्रमुख दिलप्रसाद राईसमेत मौन रहेको आरोप लगाएकी छिन् । उनले नगरपालिकाको उपप्रमुखले हिसाब हेर्न माग्दा हिसाब दिन नमिल्ने यो कस्तो नियम हो ? भन्दै प्रतिप्रश्नसमेत गरिन ्।