संसदीय समितिका छ बैठक बस्दै: महत्त्वपूर्ण विधेयक र आयोजना प्रगतिमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
1.8k
Shares
काठमाडौं। संघीय संसदका आज (बुधबार) एकै पटक ६ वटा संसदीय समिति बैठक बस्दैछन्। यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक, नीतिगत विषय र विकास आयोजनाको प्रगतिबारे छलफल हुने कार्यसूची रहेको छ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। यस बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि कर बारे नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमाथि छलफल हुनेछ। साथै, आर्थिक विधेयकले प्रस्ताव गरेका करसम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा पनि समसामयिक छलफल हुनेछ।
त्यसैगरी, बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरिनेछ।
दिउँसो १ बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ। यस बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ। सोही समयमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ।
बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिनेछ।
अन्तमा, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदा माथि छलफल हुने कार्यसूची रहेको छ।