arrow

प्रतिनिधि सभामा कृषिमन्त्री

रासायनिक मल आयातका लागि २८ अर्ब ८२ करोड बजेट, छ लाख मेट्रिक टन ल्याउने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
ramnath-adhikari-new.jpg

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रामनाथ अधिकारीले यस विषयमा जानकारी गराएका हुन्।

मन्त्री अधिकारीका अनुसार, आगामी आर्थिक वर्षमा २८ अर्ब ८२ करोड रुपैयाँबाट ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना छ। अर्थ मन्त्रालयबाट सुनिश्चितता प्राप्त भइसकेको र आगामी आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र तीन लाख मेट्रिक टन मलका लागि टेन्डर आह्वान भई सोअनुसारको मल आपूर्ति हुने विश्वास उनले व्यक्त गरे।

"आगामी आर्थिक वर्ष २०८२/०८३ मा रासायनिक मल आपूर्तिको लागि २८ अर्ब ८२ करोड रकम विनियोजन भएको छ," मन्त्री अधिकारीले भने, "जसबाट ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना रहेको छ।"

चालु आर्थिक वर्षमा रासायनिक मल आयातका लागि २७ अर्ब ९५ करोड बजेट विनियोजन भएकोमा ५ लाख ५० हजार मेट्रिक टन मल आयातका लागि टेन्डर भई हालसम्म ३ लाख ४५ हजार मेट्रिक टन मल आयात भइसकेको पनि उनले जानकारी दिए। धान रोपाइँका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी आवश्यक पर्नेमा हाल मौज्दातमा रहेको ६४ हजार मेट्रिक टन मल र आयात हुने क्रममा रहेको मलबाट माग पूरा हुने उनले बताए।

रासायनिक मल कारखाना स्थापनाको सम्बन्धमा लगानी बोर्डको नेतृत्वमा अध्ययन भइरहेको र मन्त्रालयले आवश्यक राय परामर्श गरिरहेको उनले बताए। साथै, रासायनिक मलको सहज र सुलभ वितरणका लागि सरकारबाट सार्वजनिक खरिद नियमावलीमा आवश्यक संशोधन गरिएको पनि मन्त्री अधिकारीले जानकारी दिए।

यसले किसानहरूलाई समयमै मल उपलब्ध गराउन र कृषि उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ