डेंगी प्रकोप नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण, ७३ जिल्लामा फैलियो संक्रमण
नियन्त्रण र उपचारका लागि सामूहिक पहलको माग
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
1.8k
Shares
काठमाडौं। नेपालमा डेंगीको प्रकोप दिनानुदिन बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले डेंगीले महामारीको रूप लिनुअगावै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।
सांसद पौडेलले स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार २०८१ पुस १८ गतेदेखि हालसम्म १ हजार ४ सय ३ जना डेंगी संक्रमित भइसकेको बताए। उनले संक्रमण ७३ जिल्लामा फैलिसकेको र काठमाडौंमा मात्र १५६ जना संक्रमित देखिएको जानकारी दिए। गत वर्ष २०८० मा देशभर झन्डै ५२ हजारभन्दा बढी डेंगी संक्रमित पुष्टी भई २० जनाको मृत्यु भएको स्मरण गराउँदै उनले २०७६/७७ मा महामारीकै रूप लिएको डेंगीले पुनः त्यस्तो अवस्था निम्त्याउन सक्ने सम्भावना रहेकोमा चिन्ता व्यक्त गरे। सांसद बोहोराले पनि गत वर्ष ३४ हजार संक्रमित भएको र १३ जनाले ज्यान गुमाएको स्मरण गराउँदै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे।
सांसद पौडेलले रोग नियन्त्रणका लागि तीनै तहका सरकारका अतिरिक्त स्थानीय स्वास्थ्य संस्था, टोल विकास समिति, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, स्थानीय क्लबलगायत आम नागरिकसमेतको सहभागितामा डेंगी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले जनस्वास्थ्य विभागको निगरानीमा रोकथामका कार्यक्रमहरू तीव्र बनाउन तथा संक्रमितलाई सहज र सरल उपचार व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए।
यसले डेंगीको बढ्दो खतरालाई समयमै सम्बोधन गर्न सामूहिक प्रयासको आवश्यकतामा जोड दिएको छ।