निर्वाचन आयोग रिक्त स्थानीय तहसहित १५ ठाउँको चुनाव गर्न तयार, बल सरकारमा
के पर्छ कार्तिक १६ मा ?
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
873
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी कार्तिक दोस्रो साताका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनका लागि सरकारसँग परामर्श गरेको छ । गत शुक्रबार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिक्त पदको उपनिर्वाचनका लागि परामर्श गरेको हो ।
सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचन गर्ने विषयमा छलफल गरेका हुन् ।
त्यस्तै राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमासमेत छलफल भएको छ ।
प्रतिनिधि सभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेश सभाको मनाङ क्षेत्र नं १ ९(२०) र स्थानीय तहमा १३ वडाध्यक्षको पद रिक्त रहेकाले कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ ।
प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाएका छन् । उनले आगामी आवधिक निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझावसमेत दिएका छन् ।
भेटका अवसरमा आयुक्तहरु डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले सरकारले ठ्याक्कै यो समयमा नै उपनिर्वाचन गर्नका लागि भनेर समय नतोकेको बताए । उनले आयोगले यदि कार्तिक दोस्रो साता चुनाव गर्ने हो भने असार १६ गतेभित्रै मिति तोक्नुपर्ने भनी समय दिएको सुझाए ।
उनले भने, ‘हामीले सरकारसँग कुरा राखेका छौँ । जवाफ आएको छैन । सरकारले कहिले गर्ने इच्छा देखाउँछ त्यो अनुसार हुने हो । हामीलाई सम्पूर्ण तयारी गर्नका लागि चार महिनाको समय लाग्ने भएकाले कार्तिक दोस्रो साताको चुनावका लागि असार १६ भित्र तोक्नुपर्ने गरी सुझाव दिएका हौँ ।’
प्रधानमन्त्रीले तयार थाल्दै गर्नु भने पनि यो बेला नै उपनिर्वाचन गर्ने भनेर अझै सुनाएका छैनन् । त्यसैगरी राजनीतिक वृत्तमा प्रतिनिधि सभा र प्रदेश सभाको मात्र चुनाव गर्ने र स्थानीय तहको अहिले नगर्ने भन्ने चर्चा पनि चलिरहेको छ ।
यस सम्बन्धमा सहायक प्रवक्ता चालिसेले भने, ‘हामीले सबै निर्वाचनको जानकारी दिएका हौँ । अब सरकारले अहिले प्रतिनिधि सभा र प्रदेशको सभाको चुनाव गरौँ स्थानीय तहको कभरेज वडा र पालिकाबाट भैहाल्छ भन्यो भने त्यसलाई नकार्न पर्ने कुरा छैन । सरकारको इच्छामा भर पर्ने कुरा भयो ।’
के पर्छ कार्तिक १६ मा ?
कार्तिक १६ गते आइतबार हो । आइतबार भएकाले शुक्रबारपछि विद्यालयहरु बन्द गर्दा निर्वाचनको बुथ बनाउन पनि सजिलो हुने नै भयो ।
त्यस्तै मुख्य चाडबाड सकिएपछि चुनाव हुँदा कुनै अप्ठेरो पनि नहुने भयो । कार्तिक १० गते छट सकिन्छ ।
त्यसपछि चुनाव भएकाले गर्दा समय दिन सजिलो हुने विश्लेषण आयोगको हुन सक्छ ।
तर विशेषगरी क्याम्पस पढ्ने युवालाई रोक्न भने केही अप्ठेरो पर्न सक्छ । किनकि दशैं तिहारको लामो बिदामा रहेका विद्यार्थीलाई फर्कने बेलामा चुनावको चटारो हुँदा अध्ययन छुट्ने लगभग तय छ ।