arrow

कृषिलाई उठाऔँ

logo
बद्रीप्रकाश ओझा,
प्रकाशित २०८२ असार ७ शनिबार
badri-ojha-82-3-7.jpg

आदरणीय पाठकवृन्द ! आउनुहोस् अब गाउँलाई कसरी धनी बनाउने भन्नेबारे श्रृंखलाबद्ध रुपमा चर्चा गरौँ । कुरो उही कृषिको । त्यसमा पनि कृषि रणनीतिको । योजनाको । अंग्रेजीमा एउटा भनाइ छ— वेल प्लान्ड इज हाफ डन, अथवा राम्रो योजना आफैँमा आधा काम हो । यदि राम्रो योजना बनाउन सके कसै न कसैले काम गर्छ र राम्रै काम हुन्छ ।

यही मान्यतामा जेठ र असारभरि रामेछाप बसियो । मन्थली र पुरानो रामेछापतिर घुम्दा रामेछाप उति सुन्दर ठाउँ होइन भन्ने मेरो अर्धज्ञानी सोचलाई करेक्सन गर्ने अवसर पनि पाइयो, यस पटक । पल्लो जिल्ला अथवा नेता अजय शिवाकोटीको जिल्ला । इलामभन्दा केही कम छैन । नेताजीलाई भेटेर सुझाव दिन मन छ । इलाम भन्दा राम्रो बनाउ र कान्छा सांसदभन्दा अघि बढ । शिवाकोटी मेरा पुरानै मित्र हुन् । नेता भएकाले मिलाएर गाली गर्दा पनि रिसाउँदैनन् ।

गाली गर्न मलाई ठूल्बा यानेकी वाम लेखक खगेन्द्र संग्रौलाले सिकाएका । उनी हाम्रा मितबा हुन् । सैद्धान्तिक रुपमा म उनको फलोअर त होइन तर गाली लेखनमा भने हुँ ।

दोलखा इलामभन्दा धेरै सुन्दर छ तर यसलाई सुन्दरीकरण गर्नमा नेताज्यूहरु अलि पछि परेका छन् । सदरमुकाम छेउमै मेरा साथीहरुले फार्म चलाएका थिए । माउवादीहरुले विष हालिदिएकाले १० लाखको माछा स्वाहा भएको थियो ऊ बेला । साथीहरु भागाभाग भए । अहिले जमीन बाँझै छ । 

समग्रमा दोलखा जति सुन्दर नभए पनि रामेछापको सिमावर्ती क्षेत्र दोलखा जस्तै झल्को आउँने रहेछ । तर चुरचुरे भने अति नै सुन्दर ।

मान्छे पनि काइते छैनन् । 

कतिले जानाजान ब्रोइलरलाई लोकल भन्छन्, कतिले अन्जान रुपमा । व्यापारीको धर्म नै हो नि फसाएर बेच्नु ।

वाणिज्य क्षेत्रमा झुटमुटलाई कला मानिन्छ । त्यसलाई मान्नैपर्छ ।

दोलखा र रामेछापको सिमावर्ती क्षेत्रमा खिम्ती नदी छ । स्वीट्जरल्यान्डभन्दा पनि सुन्दर ठाउँ । तर त्यति सुन्दर ठाउँमा एउटा पाकेको डण्डीफोर, याने कि देशको एकमात्र गाई अनुवांशिक केन्द्र ।

हाकिम नयाँ । दुईचार महिनापछि हेर्नुहोला मेरो करामत भन्छन् । मान्छेले झ्याप हानेको जमीन फिर्ता लिन्छु भन्छन् । रामेछापका मानिस खोलो तरेर जिरीफार्मको जमीन हडप्न पुगेका छन् । 

पाए त म पनि गर्दो हुँ । त्यति राम्रो ठाउँ । चार हजार रोपनी जग्गा । १२–१५ कर्मचारी । २०–२२ गाई । मर्न तयार । वरिपरि जमीन छ, छेउँमा घाँसे विमानस्थल, विदेशीले बनाइदिएका रे । 

म पशुसेवा विभागका महानिर्देशकज्यूलाई अनुरोध गर्छु । कि त फार्म बन्द गरेर फ्लाइङ फिस उद्योग खोलौँ, कि भूमि आयोगलाई जग्गा दिऊँ । ती गाईको बिजोक नपारौँ । कमसेकम पेटभरि खान दिउँ र उपचार गरौँ । त्यति भए पुग्छ उनीहरुलाई ।

फेरि रणनीतिमा फर्कौं ।

लिखुतामाकोशी गाउँपालिकाका प्रमुख केशव महत बडो मेहनती मानिँदारहेछन् । उनले ठाडो आदेश दिए, रैथाने बाली प्रवद्र्धन, यान्त्रीकरण र पालिकाको भूगोल अध्ययन गरी आवश्यक सिफारिस गर्नुहोला । हस् हजुर भनियो । 

दातालाई त मान्नैपर्यो नत्र जेम्समा महिना ३० कसरी बुझाउनु ? अझ अर्को सुझाव आयो, सिक्दै कमाउँदै अवधारणा अन्तर्गत कृषिलाई शिक्षा र स्वास्थ्यसँग जोडेर लैजानु पर्छ । यो चाहिँ प्रमुख कार्यकारी अधिकृतको सुझाव । पश्चिम नेपालका बासिन्दा । उनका गाउँमा चिउरीको घ्यु निकालेको कथा सुनाए ।

कृषिलाई समृद्धिको आधारका रुपमा कसरी विकास गर्ने भन्ने अध्यक्षको चिन्ता रहेछ । यतिमात्र चिन्ता संघका मन्त्रीज्यूहरु, सचिवज्यूहरुले गरिदिए किन भारतको विषाक्त तरकारी खानुपथ्र्यो र ।

वडास्तरमा छलफल गर्ने क्रममा वडा नं ५ का वडाध्यक्ष रोम तामाङले आफ्नो वडामा तीन बाली लाग्नेदेखि लेकसम्म फैलिएको भूगोल रहेको जानकारी दिए । सिंचाइ सुविधा प्राप्त बेंसीमा पनि खासै खेती नलगाइने रहेछ । मानिस विषादीलाई दबाइ भन्दा रहेछन् । हाम्री आमा पनि यसै भन्छिन् । यता पनि विषादीप्रति सचेतना नभएको पाइयो । विष किन्नेलाई म ठूल्बाको भाषा प्रयोग गर्छु । कतिपय रीसले चुर हुन्छन् ।

वडाध्यक्ष रोमका अनुसार पहिले धेरै वस्तुको निर्यात गरिन्थ्यो । अहिले खेती कम भयो । अझै पनि आलु, खुर्सानी, कागती र सुन्तला चाहिँ निर्यात हुन्छ । मतलब अरु जिल्लामा ।

बेंसीमा सिंचाइ अभाव छ ।  जंगली जनावरको उति नै दुःख । बाँचेका बालीमा रोगको प्रकोप । पशुपन्छीमा रोग लाग्यो । प्राविधिक ज्ञानको कमी छ । डाक्टरजति संघमा । अनि के को खेती हुन्छ र गाउँमा । संविधानमा लेखेर बाली लाग्दैन । रोग निको हुँदैन । 

एक वडा एक उत्पादन अन्तर्गत मकै खेती र भैंसीपालनलाई  बढावा दिन सुझाइयो । त्यो पनि गाउँलेकै सुझावमा । 

अर्कोदिन पुगियो वडा नं ३ । वडाध्यक्ष रहेछन्,  गोपाल राज तामाङ। बढो मिजासिला र सज्जन । तर उनको पार्टी नै कडा , कति हान्यो कति मान्छेका टाउका मुला झैं । ७५ प्रतिशत तामाङ बस्ती रहेछ ।  बाँकी दलित, क्षेत्रीबाहुन र नेवारको बसोबास रहेछ । 

मलखाद प्राविधिक ज्ञानको कमी नै किसानका समस्या रहेछन् । बालीवस्तुमा रोगको प्रकोप, जंगली जनावरको प्रकोप, तालिम, सिंचाइ, आदि व्यवसथापनको माग भयो ।

बिक्री नहुँदा कोदो र खुर्पानी साटासाट गर्दा रहेछन् । लेकमा भर्खर पाक्दैछ खुर्पानी । किवी लगाए पनि बजारको अभाव, तालिम र ज्ञानको कमी, सिंचाइको कमी, जंगली जनावरको प्रकोप जस्ता कयौँ समस्या छन् किसानका । सिंहदरबार त गाउँमा आएछ तर ज्ञान भने उतै बस्यो । गाउँमा चिचिला प्राविधिक छन् । उनीहरु पनि टिप्पणी सुधार्नमै व्यस्त । किसानका समस्या खासै समाधान भएका छैनन् । 

कृषि तथा पशुसेवा विभागका डीजी साहेबहरुलाई अनुरोध । यी किसानका कथा सुन्नुहोस् त – प्राविधिकले समय दिँदैनन् । रोगको प्रकोप बढेको छ । सुन्तलामा रोग लाग्यो, उपचार पाइएन । बंगुर सबै मरे ।

छलफलका क्रममा १४ सय मिटरसम्म एउटा र त्यसमाथि एउटा गरी वडालाई दुई क्लस्टरमा बाँडियो । १४०० सम्मका लागि मूख्यबालीहरुः धान, मकै कोदो, आलु , गहुँ र तरकारी माने किसानले । त्यसमाथि लेकमा मूख्यबालीका रुपमा मकै, कोदो, गहुँ तथा जौ, आलु बेमौसमी तरकारी लगाउने रहर छ, किसानको । 

आलुमा सिंचाइको समस्या छ । गाउँहरुमा बीमाप्रति सचेतना देखिएन । बंगुर मर्दा रुने तर बीमा नगर्ने देखियो । क्रमशः...(लेखक ओझा किसानहरुको सिक्ने क्षमता विषयमा पोष्ट डक्टरल अनुसन्धानकर्ता हुन्)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ