arrow

आदर्श गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
accident-final.jpg

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । शुक्रबार दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जीपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । 

दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले बताए । 

घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जीप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ