उपेन्द्रलाई प्रदीप यादवको चुनौती: 'मेरो क्षेत्रमा बजेट लगेको प्रमाणित गर्नुस्'
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
841
Shares
ललितपुर। खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको भन्ने आरोपमा सत्यता नरहेको बताएका छन्। ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यो आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए।
मन्त्री यादवले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बजेटबारे विभिन्न भ्रम फिँजाएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताए। उनले अध्यक्ष यादव सधैँ आफैँ मात्र मन्त्री बन्न खोज्ने व्यक्ति भएको टिप्पणी गरे।
"यहाँ धेरै लालपुर्जाकरहरू नेता हुनुहुन्छ। एक जना संघीय पार्टीमा काम गरेका थियौँ। अलग भए। एकदिन प्रेस मिट गरिराख्नुभएको थियो। 'माननीय मन्त्रीहरूले सत्रमुखी बजेट बनायो। जिल्लामा सबै पैसा लग्यो।' आफू बिना मन्त्री कहिल्यै नरहने, जहिले पनि सरकारमा जाँदा आफू नै मन्त्री जाने, प्रस्ताव आउँदा प्रचण्डजीले त मलाई खोजिरहनुभएको छ, ओलीको सरकार हुँदा ओलीजीले मलाई खोज्नुभएछ, शेरबहादुर देउवाजीको सरकार हुँदो शेरबहादुर देउवाजीले मलाई खोज्नुभएछ। एउटै व्यक्ति होला उपेन्द्र यादव, अरू कोही नहोला," मन्त्री यादवले उपेन्द्र यादवप्रति कटाक्ष गर्दै भने।
मन्त्री यादवले उपेन्द्र यादवले "सबै मन्त्रीहरूले आफूकेन्द्रित बजेट बनाएछन्, यो त बजेट नै राम्रो छैन" भनेर टिप्पणी गरेकोमा आपत्ति जनाए। उनले यसपालिको सरकारले ल्याएको बजेट सिँचाइ, किसान, व्यवसायी, युवा, उद्यमीहरूलगायत सबैलाई समेटेर ल्याइएको र यो बजेट ऐतिहासिक भएको दाबी गरे।
उनले आफूलाई 'मन्त्रीमुखी बजेट' बनाएको आरोप लागेको भन्दै रेडबुक हेरेर आफ्नो क्षेत्रमा बजेट लगेको प्रमाणित गर्न चुनौती दिए। "म उहाँलाई चुनौती दिन चाहन्छु, मन्त्री म पनि छु, रेडबुक हेर्नुस्। प्रदीप यादवको क्षेत्रमा मैले कहाँ बजेट लगेको छु देखाइदिनुस्। म तपाईंलाई चुनौती दिन चाहन्छु। मैले आफ्नो क्षेत्रमा बजेट लगेको छैन," उनले भने।