बागलुङ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। पहिरोले दब्ल्याङस्थित सडकको ठूलो भाग बगाएको छ।
प्रहरी सहायक निरीक्षक गङ्गाराम विकका अनुसार, विगत चार वर्षदेखि हरेक वर्षायाममा यो क्षेत्रमा निरन्तर पहिरो खस्ने गरेको छ, जसले सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ। करिडोर अवरुद्ध भएसँगै बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रतर्फको सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ। लामो दूरीका लागि छुटेका सवारीसाधनहरू पनि पहिरो खसेको आसपासका क्षेत्रमा रोकिएका छन्।
हाल कालोपत्रेको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा पनि ठाउँठाउँमा पहिरोले करिडोरलाई क्षति पुर्याएको छ। कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले जानकारी दिए।