arrow

एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाएका दुई सय भन्दा बढीको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
plane-crash-air-india-25-6-.jpg

अहमदाबाद । एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा २०० भन्दा बढी पीडितको डिएनए परीक्षणका माध्यमबाट पहिचान गरिएको भारतीय अधिकारीहरुले बुधबार बताएका छन् ।
 
बेलायतको लण्डनका लागि भारतको अहमदाबादबाट उडेको विमान उडान भएको दुई मिनेटमै अहमदाबादको एक आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार चालक दलका सदस्यसहित २४१ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । विमान अहमदाबादको एक भवनमा ठोक्किँदा विमान बाहिरका कम्तीमा ३८ जनाको मृत्यु भएको थियो ।

पीडित आफन्तहरूले आफ्ना प्रियजनहरूलाई पहिचान गर्न मद्दत गर्न डीएनए नमूनाहरू प्रदान गरिरहेका छन् ।
 
अहमदाबादको गुजरात राज्यका गृहमन्त्री हर्ष साङ्घवीले एक्समा लेखेका छन्, “दिउँसो २ बजेसम्म २०२ वटा डीएनए (नमूना) मिलेको छ ।”

 बोइङ ७८७–८ ड्रिमलाइनर उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । भारतीय अधिकारीहरूले विमान दुर्घटनाको कारण बताउन सकेका छैनन् र बेलायत र संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरू अनुसन्धानमा सामेल भएका छन् ।

अनुसन्धानकर्ताहरूले घटनास्थलबाट बरामद गरिएका ब्ल्याक बक्सहरू ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गर्ने लक्ष्य राखेका छन् ।
 
भारतको विमान दुर्घटना अनुसन्धान विभागले यसै वर्ष ब्ल्याक बक्सको विश्लेषण गर्न सकिने प्रयोगशालाको स्तरोन्नति गरेको छ । दुर्घटनापछि नागरिक उड्डयन नियामक निकायले एयर इन्डियाको ड्रिमलाइनरको निरीक्षण गर्न आदेश दिएको थियो ।

नियामकले मङ्गलबार राति भनेको छ, “विमानको प्रारम्भिक जाँचमा कुनै ठूलो सुरक्षा चिन्ता प्रकट भएको भेटिएको छैन।”

“विमान र त्यससँग सम्बन्धित मर्मत सम्भार प्रणाली विद्यमान सुरक्षा मापदण्डअनुरूप रहेको पाइएको छ,” विज्ञप्तिमा भनिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ