arrow

खतरनाक 'सेरोटाइप ए' खोरेत भाइरस फेला, चौपायामा तीव्र सङ्क्रमणको जोखिम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
cow-kharet.jpg

कञ्चनपुर। कञ्चनपुरका शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा पालिएका चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ। पशु तथा पन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा गरिएको नमुना जाँचमा यो खतरनाक भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार, तीन वर्षपछि चौपायामा खोरेत सार्ने ‘सेरोटाइप ए’ भाइरस देखिएको छ। यसअघि यो विषाणुजन्य सङ्क्रमण नदेखिएको उनले बताए। यो भाइरसबाट खुरफट्टा चौपायाहरू छिटो सङ्क्रमित हुने गर्छन्।

वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार, खोरेत सार्ने सात प्रकारका भाइरसमध्ये 'सेरोटाइप ए' लाई सबैभन्दा खतरनाक मानिन्छ किनभने यसले चौपायामा तीव्र सङ्क्रमण गराउने र आफ्नो रूप बदल्ने क्षमता राख्छ। खोरेत सामान्यतया 'सेरोटाइप ए, ओ, सि, सेट-१, सेट-२, सेट-३ र एसिया-१' नामक भाइरसबाट चौपायामा सर्ने गर्दछ।

जोशीका अनुसार, धेरैजसो चौपायामा 'सेरोटाइप ओ' प्रकारको खोरेत देखिने गरे पनि 'सेरोटाइप ए' को उपस्थिति चिन्ताजनक हो। यो भाइरस जङ्गली जनावर वा भारतीय जनावरको सम्पर्कबाट गाईभैँसी तथा अन्य चौपायामा सरेको हुन सक्ने उनको भनाइ छ।

धनगढी प्रयोगशालामा खोरेत लागेका चौपायाको नमुना परीक्षण गर्दा 'सेरोटाइप ए' भाइरस पाइएको छ। थप पुष्टि र पीसीआर परीक्षणका लागि नमुनालाई खोरेत तथा सीमाविहीन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला चपली, बुढानीलकण्ठ, काठमाडौँमा पठाइएको र नतिजा आउन बाँकी रहेको जोशीले जानकारी दिए।

खोरेत विशेषगरी गाई, भैँसी, बाख्रा, सुँगुर जस्ता खुर भएका जनावरमा देखापर्छ। ‘सेरोटाइप ए’ भाइरसको सङ्क्रमण भएमा चौपायाको खुट्टा, मुख, थुतुनो, थुनलगायतमा दाग, फोका र घाउ बनाउँछ। सङ्क्रमित चौपायामा ज्वरो आउने, ¥याल फाल्ने, गर्भिणी चौपाया तुहिने, र साना पाडापाडी, बाच्छाबाच्छी तथा पाठापाठी मर्ने सम्भावना उच्च रहन्छ।

यसका साथै, दूध उत्पादनमा गिरावट, जनावरको वजन घट्ने, प्रजनन प्रणालीमा असर पर्ने र पशुको प्रजनन क्षमतामा ह्रास आउने जस्ता समस्याहरू पनि देखिन्छन्।

रोग नियन्त्रणको मुख्य उपाय रोग लाग्नुअघि चौपायालाई एफएमडी भ्याक्सिन (FMD Vaccine) कम्तीमा ६ देखि १२ महिनामा एकपटक दिनुपर्ने चिकित्सक जोशीको भनाइ छ।

खोरेतको सङ्क्रमण भएका पशुलाई तत्काल छुट्याउने, पशुको ओसारपसार नियन्त्रण गर्ने, गोठ, पशु, औजार, हात र कपडा सफा गर्ने जस्ता कार्य गरेर अन्य चौपायालाई सङ्क्रमणबाट जोगाउन सकिने उनले बताए। प्रदेश र स्थानीय तहको समन्वयमा खोरेत भ्याक्सिनेसनको काम भइरहेको पनि उनले जानकारी दिए।

शुक्लाफाँटा नगरपालिका पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले रोगको सङ्क्रमण देखिएको क्षेत्र वरिपरिका सङ्क्रमित नभएका चौपायालाई भ्याक्सिन लगाउने काम भइरहेको बताएका छन्। उनले पशु प्राविधिकहरूलाई किसानको घरदैलोमा खटाएर निःशुल्क रूपमा भ्याक्सिन लगाउन खटाएको जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ