गौरीकुण्डमा बिहानै हेलिकप्टर दुर्घटना, सबै छ जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
2.1k
Shares
काठमाडौँ । भारतरको केदारनाथ नजिकै गौरीकुण्डमा आइतबार बिहानै हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। स्थानीय समयअनुसार बिहान करिब ५ः२० बजे भएको दुर्घटनामा पाइलटसहित सवार सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बच्चा पनि रहेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
हेलिकप्टर केदारनाथ मन्दिरबाट भक्तजनहरूलाई बोकेर गौरीकुण्ड उडेको थियो। प्रारम्भिक जानकारीमा दुर्घटनाको कारण खराब मौसमलाई बताइएको छ। हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार हेलिकप्टरमा सवार यात्रुहरू उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातका हुन् । गौरीकुण्डबाट उद्धार टोली पठाइएको छ।
दुर्घटनाको बारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना भएको बारेमा दुखद खबर प्राप्त भएको बताउँदै स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न रहेको बताएका छन् ।
८ दिन अगाडि रुद्रप्रयागमा एउटा हेलिकप्टर सडकमा आपतकालीन अवतरण गरिएको थियो। गत जुन ७ मा उत्तराखण्डको रुद्रप्रयागमा प्राविधिक गडबडीका कारण हेलिकप्टर सडकमा आपतकालीन अवतरण गरिएको थियो ।
यस क्रममा कारमा खस्ने बित्तिकै हेलिकप्टरको पछाडिको भाग भाँचिएस्को थियो । कार पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।
राजमार्गमा बनेको पसलको टिन शेड पनि हेलिकप्टरको पंखाले उडाएको थियो। यस क्रममा पसलमा बसिरहेका मानिसहरू भागेर आफ्नो ज्यान बचाउन सफल भएका थिए ।
गत मे महिनामा मात्रै भारतमा दुई ओटा हेलिकप्टर दुर्घटना भएका थिए । जहाँ ८ मेमा उत्तर काशीमा ६ जनाको मृत्यु भएको थियो ।
त्यस्तै केदारनाथमा १७ मेमा भएको दुर्घटनामा पाइलट, नर्स र डाक्टर सवार रहेकामा तीनै जना बाँचैका थिए ।