राष्ट्र र जनताको बृहत्तर हितका लागि सदन खोल्ने सहमति - प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
597
Shares
झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको बृहत्तर हितका लागि सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताएका छन्। उनले अनन्तकालसम्म सदन अवरुद्ध गरिरहन माओवादी केन्द्रले नसक्ने स्पष्ट पारे।
झापाको दमकमा शनिवार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने लगायतका केही महत्त्वपूर्ण विधेयकहरू सदनमा अड्किएको उल्लेख गरे। सदन अवरोध गर्नु भनेको सङ्घीय निजामती ऐन, शिक्षा ऐन, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा बहस हुन नदिनु र जनताका मुद्दाहरूलाई थाँती राख्नुजस्तै भएको उनको भनाइ छ। उनले सरकारलाई एक महिनाभित्र समिति बनाएर छानबिन गर्ने शर्तमा सहमति गरिएको बताए। यद्यपि, केही पक्षले भने यसलाई 'आकाश नै खस्यो, जहाज नै डुब्यो, धर्ती नै भासियो' जस्तो गरेर प्रस्तुत गरेकोमा उनले आपत्ति जनाए।
अध्यक्ष दाहालले भने, "शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनेसँग सम्बन्धित केही महत्त्वपूर्ण विषय पनि त्यहाँ छन्। यो सबै कारणले माओवादीले अनन्तकालसम्म सदन अवरुद्ध गर्नु भनेको सदन अवरोध गरेको छ, अवरोध गरेको छ। गर्नु भनेको सङ्घीय निजामती ऐन पास हुन नदिनु, शिक्षा ऐन पास हुन नदिनु, नागरिकता ऐन पास हुन नदिनु, शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा बहस हुन नदिनु, जनताका मुद्दाहरू थाँती राख्नुजस्तो भयो।"
उनले थपे, "त्यसैले हामी कहीँ न कहीँ सरकारलाई एक हदसम्म छानबिनको निम्ति बाध्य पारेर एक महिनाभित्र समिति बनाएर गरौँ भन्ने बाध्य पारेर मात्रै राष्ट्र र जनताको बृहत्तर हितका निम्ति हामीले सहमति गरेको हो। तर एकथरी मान्छेहरू खत्तम भयो, आकाश नै खस्यो, जहाज नै डुब्यो, धर्ती नै भासियो जस्तो गरेका छन्, बिल्कुल वाहियात कुरा हो। हामी एउटा जिम्मेवार पार्टी मात्रै होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अपनत्व लिने मुख्य पार्टी हो।"